Logo

७० लाखमा आधा पिलर ! ठेकेदार फरार



Spread the love

१५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए ।

तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

वाग्मती गाउँपालिकामा पर्ने (छपेली-भट्टेडाँडा–इकुडोल) सडकअन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए ।

स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन् । ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसको तत्कालीन जिल्ला सचिव रविन शर्माको भनाइ छ ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए। ‘पिलर सम्पन्न नगरी जिल्ला प्राविधिक कार्यालयले किन यति धेरै पैसा दियो ? ’, उनले प्रश्न गरे। खोलामा पुल नहुँदा बर्खामा बाटो बन्द हुने स्थानीयवासीको भनाइ छ ।

‘यसै समस्यालाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयसम्म पुगेर पुलको योजना पारेको थिएँ। तर ठेकेदारका कारण जनताले सास्ती पाए। काम गर्छु भनेपछि पूरा गर्नुपर्छ’, शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्