Logo

शिक्षा क्षेत्रमा मालिकाको फड्को, मास्टर्स डिग्री अध्ययन गर्न चाहने विद्यार्थीलाई दियो सुनौलो अवसर



Spread the love

१७ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले पछिल्लो समय नयाँ र उत्कृष्ट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।
यसैबिच बिहीबार जिल्लाको रेसुङा बहुमुखी क्याम्पससँग शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापना तथा चेक हस्तान्तरण गर्दै मास्टर्स डिग्री अध्ययन गर्ने विद्यार्थीलाई सुनौलो अवसर प्रदान गरेको छ ।

प्रोत्साहन कोष अन्तर्गत वार्षिक दुई लाख रुपैयाँ मालिका गाउँपालिकाले बहुमुखी क्याम्पसलाई प्रदान गर्ने छ भने गाउँपालिका भित्रबाट शिक्षा संकाय अध्ययन गर्न चाहने विद्यार्थीले निः शुल्क डिग्री अध्ययन गर्न पाउने छन् । यसरी क्याम्पससँगको साझेदारीमा प्रोत्साहन कोष स्थापना गरि विद्यार्थीलाई निः शुल्क अध्यापन गराउने मालिका गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । यो कोष स्थापना भएसंगै विद्यार्थीले अब जाँचको मात्र शुल्क तीर्नु पर्नेछ । यो कार्यक्रमबाट मालिका गाउँपालिकाका ४० जना भन्दा बढि विद्यार्थी लाभान्वित हुनेछन् ।

मालिका गाउँपालिकाको शिक्षा क्षेत्रको समग्र विकासको लागि प्रोत्साहन कोष स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँपालिका सबै क्षेत्रमा अगाडी बढ्न चाहेको र विशेष गरी शिक्षा र स्वास्थ्यलाई जोड दिएको उल्लेख गरे । उनले भने ‘मालिका गाउँपालिका अहिले पिछडिएको क्षेत्र भनेर चिनिन्छ । हामीले अहिले माग्नु परेको छ । तर, निकट भविष्यमा हामी अरुलाई दिने गरी काम गरिरहेका छौँ।’ त्यस्तै, यता रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र श्रेष्ठले मालिका गाउँपालिकाले शिक्षा क्षेत्र तर्फ दिएको चासोप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयात्रा गरेर अघि बढ्ने अपेक्षा समेत राखे ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल, रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरी खत्री, मालिका गाउँपालिकाबाट मास्टर्स अध्ययन गर्ने विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्