Logo

कांग्रेस बैठकमा देउवा र सिंहबीच चर्काचर्की



Spread the love

कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि अग्रसर भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा संसदीय दलको नेताका अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह र देउवाबीच चर्काचर्की नै पर्‍यो ।

देउवाले आफैं दलको नेता बन्न तयारी सुरु गरे पनि संस्थापन पक्षकै कतिपय नेता यसमा असन्तुष्ट छन् । तर उनीहरू देउवाका सामुन्ने बोल्न सकेका छैनन् । संसदीय दलमा आफ्नो पक्षमा बहुमत देखिएपछि उनी आफैं अग्रसर भएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदको संयुक्त बैठकमा पौडेलले पार्टी पराजित भएका बेला सभापतिले नै दलको नेतामा दाबी गर्न परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने भन्दै आपत्ति जनाए ।

२०५१ र ०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी पराजित भएका बेला अघि नसरेको ‘नजिर’ प्रस्तुत गर्दै उनले देउवालाई प्रतिस्पर्धा नगर्न आग्रह गरे ।

‘०५१ मा पार्टी पराजित हुँदा हामी (देउवा र पौडेल) नै गएर गिरिजाबाबुलाई पार्टी पराजय भएका बेला दलको नेता तपाईं बन्न हुन्न भनेर भनेका थियौं, अहिले पनि पार्टीले चुनाव हारिसकेपछि पार्टी सभापति नै फेरि दलको नेतामा प्रतिस्पर्धा गर्ने ?’ पौडेलले भने, ‘यो परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने कुरा हो । पार्टी हितका लागि पनि सभापतिले प्रतिस्पर्धा गर्न हुन्न ।’

प्रतिक्रिया दिनुहोस्