Logo

केपी ओलीलाई आधा घण्टा सम्झाएर बाम एकता गराए : दुर्गा प्रसाई ( कुराकानी सहित )



Spread the love

एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रियाको अन्तिम टुङ्गो लगाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुर्गा प्रसाईको घरमा बसेर छलफल गरे । प्रसाईकै घरमा बसेर गरेको छलफलले नै एकता प्रक्रिया सहज भएको बताइन्छ । यसबिचमा प्रसाईको चर्चा पनि चुलियो । मेडिकल संचालन प्रसाईले राजनीतिक लाभ लिनका लागि आफ्नो घरमा नेताहरुलाई बोलाएर बैठक बसाउने, खाना खुवाउने गरेको आरोप पनि लाग्यो । दुर्गा प्रसाई तिनै ब्यक्ति हुन जसले झापामा बि एण्ड सी मेडिकल कलेज चलाएका छन् । यसै सम्बन्धमा ऋषि धमलाले उनै प्रसाईसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले माओवादी र एमालेबिच एकता गराउन भूमिका खेल्नभयो हैन ?

माओवादी र एमालेका लागि भन्दा पनि राष्ट्रका लागि योगदान गरेको हुँ ।

तपाईले त केपी ओली र प्रचण्डलाई घरमा बोलाएर भोज खुवाउनुभयो नि ?

मैले २००७ सालदेखिको राजनीतिलाई ओली र प्रचण्डलाई मेरो घरमा राखेर अन्तिम रुप दिएँ । तर मैल देश बेच्ने र देशद्रोहि काम गरेको होइन । प्रचण्ड र ओलीलाई मेरो घरमा राखेर वार्ता गराएर सफल बनाएँ । मैले देश जोड्ने काम गरेँ ।

त्यसोभए तपाईकै कारण प्रचण्ड र ओलीबिच एकता भएको हो ?

मेरै घरमा बसेर मेरै कारणले एकता भयो । मैले गराएको हुँ । मेरो घरमा उहाँहरु पाँच घण्टा बसेर सहमति गर्नुभयो ।

पाँच घण्टा बस्दा केके भयो ?

मैले केपी ओलीलाई आधा घण्टा सम्झाएँ । त्यसपछि दुईजनाबिच भटाभट सहमति भएको हो । मेरो घरमा तीन बुँदे सहमति भएको थियो । पार्टी एकता गराउनका लागि मेरो ९९ प्रतिशत भूमिका छ ।

केके सहमति भएको थियो ?

माओवाद जबज भन्ने केके कुरा मिलेको थिएन । महाधिवेशनसम्म जाने विषयमा तीनवटा सहमति भएको थियो । मेरो घरमा तीन बुँदे सहमति भएपछि भोलिपल्ट वालुवाटारमा सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो । ठोस सहमति मेरै घरमा भएको हो । मेरो घरमा गएपछि बल्ल वार्ता सुध्रिएको हो । पछिल्लो पटक खाना खाएको फोटो मेरो ड्राइभरले फेसबुकमा हालेछ । त्यो कुरालाई लिएर ममाथि अनेक आरोप लगाए ।

तपाईको घरमा बसेर गोप्य वार्ता गरेको खाना खुवाएको तस्विर किन सार्वजनिक गरेको भनेर प्रचण्ड र ओलीले आपत्ति जनाउनुभयो नि ?

मलाई उहाँहरुले केही पनि भन्नुभएको छैन । यो गोप्य राख्नुपर्ने बैठक पनि होइन । किनकी नेपालका दुई ठूला दलबिच एक हुँदैथियो । पत्रकारहरु पनि त्यहीँ थिए । मैले उहाँहरुलाई रक्सी खुवाएको थिइन । डान्सबार बनाएर हिरोनीहरु नचाएको थिइन । दालभात मात्रै खानुभएको थियो । सकारात्मक कुरा केही आएन । बदनाम गराउने प्रयास मात्रै भयो ।

नेताहरुले तपाईकै घर किन रोजे होलान् ?

मैले मेरो घर वास्तु हेराएर बनाएको हूँ । बिग्रेका वार्ताहरु मेरो घरमा मिल्छ ।

तपाईले त पैसा कमाउनका लागि नेताहरु प्रयोग गरे भन्नेहरु पनि छन् नि ?

ए बाबा मलाई किन पैसा कमाउनुपर्यो ? जङ्ल फाँडेर बसेका बाउको सन्तान हुँ । म भएको सम्पत्ति राज्यलाई दिने मान्छे । वर्षको १४–१५ करोड राज्यलाई कर तिर्छु । मलाई प्रचण्ड र ओलीले के दिन्छन् र ? म ८ कक्षा पढेको मान्छे । मलाई कुनै नियुक्ति पनि चाहिदैन । मेरा छोराछारी डाक्टर छन् । उनीहरुलाई जागिर पनि चाँहिदैन । देश विकास होस्, मेरो चाहना यत्ति हो ।

प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्ममिति फरक फरक भएको भन्दै विरोध गर्ने डा. गोविन्द केसीको नै जन्ममिति तीनवटा फेला पर्यो । यसलाई तपाईले कसरी लिनुभएको छ ?

यो सिकारी आफै सिकार बनेको हो । आफ्नो ज्यानमा भैँसी नदेख्नेले अरुको ज्यानमा जुम्रा छ भन्दै हिँडेको हो । प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्ममिति फरक फरक भएको भन्दै विरोध गर्ने डा. गोविन्द केसीको नै जन्ममिति तीनवटा देखियो । उहाँ नै तीनपटक जन्मनुभएको रहेछ । उहाँले नेपाली जनतालाई भ्रममा राख्नुभएको रहेछ ।

केसीले त भूलबस त्यस्तो हुन गएको भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी दिनुभयो नि ?
अरुको पनि भुलबस भएको होला नि त । मैले झापामा मेडिकल कलेज बनाएँ मलाई माफिया भन्नुहुन्छ । म माफिया हुँ त ? उहाँले जसलाई जे पनि भन्ने त ? उहाँ आफैँ त्यस्तो हुनुहुदो रहेछ त । माफि माग्दैमा हुन्छ ? उहाँ त नैतिकताका आधारमा अहिले नै राजिनामा दिएर शिक्षण अस्पतालबाट निस्किनुपर्छ । टिचिङ अस्पताल उहाँको अनशन बस्ने ठाउँ होइन ।

गोविन्द केसीले त मेडिकले क्षेत्र माफिहरुबाट संचालित छ भन्ने आरोप सार्वजनिक रुपमै लगाउनुभएको छ नि ?

को माफियाबाट संचालित छ, अब विस्तारै थाहा हुँदै जान्छ । नागरिकता काण्डमा रामरहिम बाबा र आशाराम बाबुजस्तै उहाँ पनि प्रमाणित हुनुभएको छ । उहाँका बारेमा अरु न्युजहरु पनि आउँदैछ । हेर्दै जाँदा हुन्छ । फेसबुक र टुइट चलाउने दलाल र नोकरशाहीहरुले पनि बुझ्दै जानेछन् । आज बेलुका पनि धेरै कुराको पर्दाफास हुँदैछन् । बेलुका टिभीमा धेरै कुरा आउँनेछ ।

केके कुरा पर्दाफास हुँदैछ ?

हामीले केही गर्नुपर्दैन । तीनवटा जन्ममिति देखाएर जागिर खाएका गोविन्द केसी हुन् । हामी होइन । उल्टै हामीलाई माफिया भन्ने ? अब धेरै खोज्दै जाँदा केके भेटिन्छ हेराँै । खोजिरहेका साथीहरुले । बेलुकासम्म धेरै कुरा आउँछ ।
गोविन्द केसीले त देश र जनताको मनमा बस्ने काम गर्नुभएको छ । सबैले प्रशंसा गर्छन् । तपाईले किन विरोध गर्नुभएको ?
कुन काम गर्नुभयो देश र जनताका लागि ? गरिब विद्यार्थीले पढ्ने कोटा कटाउनुभयो । तीन सय विद्यार्थीले निःशुल्क एमबिबिएस पढ्न पाउँथे । अहिले एक सय पचास मात्रै बनाउनुभएको छ । मेडिकल पढ्न चाहनेलाई विदेश जाने वातावरण बनाउनुभएको छ । कुन काम गर्नुभएको छ र ?

उहाँले शिक्षा क्षेत्रका माफियाहरुको जालो तोड्दै हुनुहुन्छ । त्यसैले तपाईहरु असन्तुष्ट हुनुभएको हो ?
कुन माफियाको जालो तोड्नुभयो ?

मेडिकल क्षेत्रमा लागेर पैसा कमाउनेहरुलाई त उहाँले निरुत्साहित गर्नुभयो नि ?

मान्छेले लगानी गरेपछि २ पैसा कमाउँछ । कमाएर पनि यहीँ छोडेर जाने हो । तर उहाँले माफिया ध्वस्त पार्नुभएको होइन, अहिले आफैँ ध्वस्त हुनुभएको छ । हिजो पत्रकार सम्मेलन गर्दा दुनियाँले थुकेहोला नि । लाज भएन ? उहाँलाई बोकेर हिँड्ने पत्रकारहरुले अब कसरी सच्याउँछन् ।

तपाईले पत्रकारमाथि आरोप लगाइरहँदा नेपालका पत्रकाहरुले लोकतन्त्र र विधिको शासनको लागि कति योगदान गरेका छन्, थाहा छ ?
भूमिका केहीमा खेले होला । हामीले पनि त भूमिका खेलेका छौँ नि । राज्यलाई कर बुझाउँछौँ । राज्यले नसकेको औषधि उपचार हामी गराउँछौँ । खै हामीलाई पत्रकारले सम्मान दिएको ?

तपाईलाई नेपालका पत्रकारले सम्मान दिएका छैनन् ?
हामीलाई किन माफिया मात्रै भनेर किन लेखिन्छ ?

तपाई माफियाको सञ्जालमा हुनुहोला नि त ?
प्रमाण पुर्याउनुपर्यो नि । बैँकबाट पैसा लिएर लगानी गरिएको हो । के सबै बैँक माफिया हुन् ?

झापामा तपाईले मेडिकल कलेज खोल्नुभएको छ । त्यहाँ माफियाको लगानी छैन त ?

ए बाबा तपाईसँग कुन कसम खानुपर्छ मैले ? कुन मन्दिरमा बस्नुपर्छ ? यस्ता भ्रममा मान्छेलाई नहालम् । गोविन्द केसीले माफिया भन्नुहुन्थ्यो । उहाँ त युरोपियन युनियनको पैसामा चलेको दलाल हुन् ।

पत्रकार ऋषि धमलाले दुर्गा प्रसाई सँग लिएको अन्तरवार्ता

प्रतिक्रिया दिनुहोस्