Logo

बिश्वकै जटिल शल्यक्रिया नेपालको नोबेल हस्पिटलमा



Spread the love

मोरङ ९, सल्लेरी खबर ।

मोरङ– विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दूर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चोकका ४२ बर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो । अस्पतालले आचार्यको एन्यूरिजम (मस्तिष्क भित्रको नसामा बनेको रगतको पोका फुटेको) र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरेको हो ।

ब्रेन ट्युमरभित्र एन्यूरिजमको समस्या विश्वमै दूर्लभ र जटिल मानिने नोबेल अस्पतालका न्यूरो सर्जन डा.प्रकाश काफ्ले बताउँछन् । ‘यस्तो समस्या विश्वकै रेकर्डमा हालसम्म १ सय ७६ वटा मात्र पाईएको छ ।’ डा.काफ्ले भन्छन् ‘अत्याधुनिक उपकरणका कारण दूर्लभ र जटिल शल्यक्रिया पनि सफल भयो ।’ यसलाई विश्व रेकर्ड (THE KURUME MEDICAL JOURNAL Vol.31 Japan) ले पनि पुष्टि गर्ने नोबेल न्यूरो साईन्सेसका निर्देशक डा.आईप चेरियनले बताए ।

यस्तो शल्यक्रिया विश्वमै दूर्लभ र जटिल मानिने चिकित्सकहरुको भनाई छ । अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले ईन्ट्राअपरेटिभ एमआरआई र आई सेभेन नेभिगेशन जस्ता उपकरणको सहायतामा दुवै रोगको एकैसाथ सफल शल्यक्रिया गरेर बिरामीको ज्यान बचाएको हो ।

प्रोफेसर जुहा एन्टेरो हर्नेशनेमी, डा.आईपी चेरियन, प्रकाश काफ्ले, सुनिल मुनाकोमी, भ्लादिमिरोभिज सर्गे,फिट्री सुमार्दी, दिपक पौडेल, विजय केसी लगायत चिकित्सकहरुले दूर्लभ र जटिल शल्यक्रिया सफल बनाएका हुन् । एन्यूरिजमको समस्याले मात्र पनि बिरामीको ज्यान जाने सम्भाबना धेरै हुन्छ । अझ ब्रेन ट्यूमरभित्र भएको एन्यूरिजम झनै खतरनाक भएपनि शल्यक्रिया गरी बिरामीको ज्यान बचाउन सफल भएको डा.चेरियनले बताए ।

जटिल शल्यक्रिया सफल भएपछि बिरामीका आफन्तले खुशी ब्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो हैन भनेर धैरै डर लागेको थियो ।’ बिरामीकी श्रीमती अंकिता आचार्यले भनिन् ‘जटिल अप्रेशन पनि नोबेलमा सजिलै भयो, ज्यान बाँच्यो यसमै खुःशी छौ ।’ केहि दिनअघि अत्याधिक टाउको दुखेर आचार्य मुर्छा परेर ढलेका थिए । त्यसपश्चात तत्काल उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बिराटनगरकै एक अस्पताल पुर्याइयो ।

त्यहाँ बढी खर्च लाग्ने बताएपछि सस्तो र राम्रो उपचारको खोजीमा नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको बिरामी हिराका दाजु सुरेश आचार्यले बताए । ‘नोबेलमा राम्रो उपचार हुन्छ भन्ने सुनेका थियौं ।’ आचार्यले भने ‘अन्तभन्दा धेरै सस्तो र धेरै राम्रो उपचार हुँदोरहेछ ।’

 न्यूरोका लागि जर्मन, अमेरिकालगायत देशबाट अत्याधुनिक उपकरण र सिएमसी भेलोर, फिनल्याण्ड, रसिया, इन्डोनेसिया, लगायत देशबाट विशेषज्ञ चिकित्सक ल्याएर नोबेलले जटिल रोगको सफल शल्यक्रिया गर्दै आएको छ । अत्याधुनिक उपकरण र विश्वप्रसिद्ध डाक्टरहरु भएकाले अब जस्तोसुकै जटिल रोगको उपचार गर्न पनि नोबेल सक्षम रहेको अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताए ।

दक्षिण एसियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको दाबी गर्दै डा.शर्माले भने ‘नेपालका मात्र हैन विदेशका बिरामी पनि उपचारका लागि नोबेलमा आउने वातावरण बनाएका छौ ।’ पछिल्लो समय गुणस्तरीय उपचार सेवा पाएपछि नोबेल अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=Odpf9WHtgFc&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्