Logo

किन हुन्छ कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ ?



Spread the love

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।

राष्ट्रिय प्रसारण लाइनबाट वञ्चित
कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छैनन् । कर्णाली विकास आयोगले गरेको एक अध्ययनअनुसार स्थानीय बासिन्दाको सक्रियतामा पाँचै जिल्लामा २.४ मेगावाट विद्युत् उत्पादन हुन्छ । यो क्षेत्र साना जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जामै निर्भर छ ।

त्यस्तै, सोलार बत्तीको उपयोग पनि प्रशस्त हुने गरेको अध्ययनले देखाएको छ । यस क्षेत्रको १० वर्षे विकास योजना बनाउन गरिएको अध्ययनमा लघु जलविद्युत् आयोजना नभएका क्षेत्रमा सोलार बत्ती प्रयोग भइरहेको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

किन हुन्छ लोडसेडिङ ?

यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन हुने गरेको छैन ।

स्थानीयवासीबीचको विवादले पनि विद्युत् उत्पादनमा समस्या हुने गर्छ । दुई वर्षअघि जुम्लाको गज्र्याङकोट गाउँका स्थापना भएको दोचालघाट जलविद्युत् आयोजना निर्माण गर्दा अर्को गाउँबाट पानी आउँछ । स्थानीय बासिन्दाले आफ्नो गाउँको पानी अर्को गाउँको प्रयोगका लागि नदिने भन्दै विवाद गरे । अहिले विवाद सल्टिएपछि ८६ किलोवाटको यो आयोजनाबाट ८८० घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्