प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन् ।
केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो सर्वोच्च अदालत पुगेका थिए भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
केसीले सर्वोच्चको १५ नम्बर मुद्दा फाँटबाट प्रधानन्यायाधीश पराजुलीको एसएलसीको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय र न्यायपरिषद्ले पठाएका पत्रलगायत सक्कलबमोजिम नक्कल प्राप्त गरेका हुन् ।
‘सबै कागजातको नक्कल सर्वोच्च अदालतबाट प्राप्त गरेका छौं। अध्ययन हुन बाँकी छ’, डा.केसीका कानुन व्यवसायी रहेका अधिवक्ता अर्यालले भने ।
प्रधानन्यायाधीश पराजुलीले आफूले नागरिकता लिने समयमा उमेर मात्र कायम हुने प्रचलन रहेकाले उमेर स्पष्ट गर्न प्रतिलिपि निकाल्दा जन्ममिति खुल्ने गरी २०१० वैशाख १६ गते कायम गरेको दाबी गर्दै आएका छन्।