Logo

दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई



Spread the love

८ चैत, काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ ।

यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।

दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो ।

त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।

तत्कालीन माओवादीमा रहँदैखेरि दाहाल–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् ।

भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक÷डेढ महिनाका बीचमा दाहाल–भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ । उनीहरूबीच अरू संयुक्त भेटघाट भने धेरैपटक भएको हुन सक्ने आँकलन उनले गरे । भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले जानकारी दिए ।

करिब डेढ महिनाअघि तत्कालीन नेकपा ९दाहाल–नेपाल पक्ष० ले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन दाहालले भट्टराईलाई भेटेका थिए । उक्त भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए । माओवादी जनयुद्धताका दाहाल, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । सो भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो ।

त्यसको केही समयपछि दाहाल फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिबार भएको थियो । सो दिन पनि दाहाल भट्टराई निवासमै पुगेका थिए । पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले दाहाललाई साथ दिँदै आएका छन् । आज नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्