Logo

लोकसेवा तयारी कक्षा सञ्चालन, महिलाहरूलाई राम्रो अवसर



Spread the love

६ फागुन, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । “गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भने ।

दवाडीका अनुसार लोकसेवा तयारीका लागि रु तीन लाख बजेट छुट्याइएको छ । यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिए । महिला तथा बालबालिकाका लागि रु २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि रु एक÷एक लाख बजेट छुट्याइएको उनले बताए ।

गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो । उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ ।

उक्त गाउँपालिका वडा न ४ कि ३४ वर्षीय गीता कुँवरले तयारी कक्षाले परीक्षाका लागि आत्मविश्वास बढेको बताइन् । “मलाई पहिलेदेखि लोकसेवाको परीक्षा दिन मन थियो तर खासै अनुभव थिएन, अहिले आफ्नै गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेपछि पढ्ने उत्साह मिलेको छ ।” कुँवरले नासु र खरिदार दुवैका लागि परीक्षा दिने तयारी गरेको बताए । अधिकांश विवाहित महिलाको सहभागिता रहेको तयारी कक्षामा अध्ययन सामग्री र पुस्तक पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्