१५ माघ, एजेन्सी । भारतमा एक जना फलफुल पसलेले लाखाैँका सुनका गरगहना चोरेका छन् । उनले सुनका गरगहना चोर्न लगाएको उपायले सबैलाई चकित बनाएको छ ।
मुम्बर्इको थानेमा एउटा सुन पसलसँगै एक जनाले फलफुल पसल खोलेका थिए । पछि सोही फलफूल पसलबाट सुरूङ बनाएर ती पसले कराेडाैँका गहना चोर्न सफल भए ।
नाभी मुम्बई पुलिसका एसिपीका अनुसार उक्त चोरीमा ५ जना संलग्न रहेको पाइएको छ । ती पाँच जनाको समूहले गरगहना पसलसँगै जोडिएको सटर खाली भएको थाहा पाएपछि चोर्ने योजना बनाएर नै उक्त सटर भाडामा लिएका थिए ।
उनीहरूले फलफूल पसल खोलीसकेपछि चोर्नका लागि भित्ता फुटाउने सामानहरू खोजे र सही माैकाको लागि पर्खिए । गरगहना पसल एक हप्ता नखुल्ने भन्ने पत्तो पाएपछि उनीहरूले सोही माैकामा भित्ता फुटाएर सुनका गरगहना चोरेर भागे ।
सुन पसलसँगै अब्दुल मजिद शैखले ‘अब्दुल फ्रुट्स’ पसल खोलेका थिए । सोही पसल उनीहरूले सुन चोर्न सुरूङका रूपमा प्रयोग गरे । यो घटना जनवरी १७ तारिखमा घटेको बताइएको छ ।
भित्ता फुटाएर गहना पसलमा पसेका उनीहरूले सबै खाली हुने गरि चोरे । उक्त सुन पसलबाट उनीहरूले १ करोड ३७ लाख भारूका सामानहरू चोरेको प्रहरीले उल्लेख गरेको छ ।