इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ।५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन्।
सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तिमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो।
आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।
यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।
दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।दिल्लीले सन्दीपलाई आफ्नो क्लवबाट खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीले ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’