Logo

अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाईयो



Spread the love

yuba-dibas-salyan

“गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता” भन्ने मूल नाराका साथ सल्यानमा पनि विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । जिल्ला युवा परिषद् सल्यान र ओरेक नेपाल सल्यानको संयुक्त आयोजनामा उक्त दिवस मनाईएको हो । दिवसका अवसरमा सल्यानको खलंगामा जनचेतना मूलक प्रभातफेरी निकालिएको छ ।
आज बिहान खलंगा टुडिखेल बाट सुरु भएको र्याली  पुरानो बसपार्क हुदैँ पुनः टुडिखेल बालमन्दिरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । जिल्ला युवा समिति सल्यानका अध्यक्ष जनक बिक को अध्यक्षता एवम् सल्यान क्षेत्र न.ं २ का सांसद प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथी ज्वालाले युवा दिवस मनाईंरहँदा सल्यानमा युवा बेरोजगारको समस्या बढ्दै गएको बताउनु भयो । सीप र दक्षता अनुसारको काम नपाउँने भन्दै उहाँले अदम्य आँट र हिम्मत भएका धेरै युवा विदेशिने गरेको बताउनु भयो । उहाँले पाखुरामा बल, मनमा साहस र देख्दैमा खाईलाग्दा युवा बिदेशीनु देशको लागी दुखको कुरा भएको बताउनु भयो । “सबै युवा रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्दो छ ” उहाँले भन्नु भयो, “कहीँ कतै हाम्रो देश अब बृद्धबृद्धा, बालबालिका, अशक्तहरुको बास स्थान हुने त होइन ? यसमा मलाई दुख लागेको छ ।” ज्वालाले अब देशमा रोजगारीका अवसर सिर्जना गर्न सरकार सँग माग गर्नु भयो । उहाँले देशको सबै युवा शक्तिलाई स्वदेशमा नै प्रयोग गर्न सके यही सुन फल्ने विश्वास दिलाउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट आतिथी प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले अब युवा बिदेशीनु पर्ने बाध्यता नभएको बताउनु भयो । सरकारले युवाका लागी थुप्रै कार्यक्रमहरू ल्याएको बताउदै उहाँले युवाका लागी कस्ता कार्यक्रमहरू आए त भनेर युवाहरू अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । उहाँले व्यावसायिक तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, मत्यपालन लगाएतका यहाँ विभिन्न स्वरोजगारमुखी सम्भावनाहरू भएको बताउँदै त्यस तर्फ लाग्न युवाहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला युवा समिति सल्यानका अध्यक्ष जनक बिकले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण ओरेक नेपाल सल्यानका कार्यक्रम संयोजक अशोक चौधरीले गर्नु भएको थियो । कार्यक्रम विभिन्न तह र तप्काका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
दिवसका अवसरमा पास नेपाल सल्यानले थारमार र माझकाँडामा, सारदा संस्था सल्यानले शिवरथमा, नागरिक सरोकार मञ्च सल्यानले कुपिन्डे दहमा र पोष्ट नेपाल सल्यानले ढाँकाडाममा पनि विभिन्न जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्