Logo

गुल्मीमा कृषक पेन्सन कार्यक्रम सुरू हुने



Spread the love

१८ पुस, गुल्मी । कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन कार्यक्रम शुरु गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक विकास हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध कृषक बनाउने उद्देश्यले कृषकलाई पेन्सन दिन लागेको हो । जसका लागि नवौँ गाउँसभाबाट ‘कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि’ २०७७ पारित गरिएको छ ।

कृषिमा यान्त्रीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण संवद्र्धन एवं सदुपयोग गर्ने र छत्रकोट गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कृषकलाई पेन्सन दिन लागिएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।

गाउँपालिकाले पेन्सन पाउने कृषकलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको कृषकलाई हरियो, ‘ख’ वर्गको कृषकलाई निलो र ‘ग’ वर्गको कृषकलाई पहेँलो परिचयपत्र दिने योजना छ । कृषकले वर्गअनुसार पेन्सन प्राप्त गर्नेछन् । गाउँपालिकाले अहिले डाटा सङ्कलन गरिरहेको र वास्तविक कृषक पहिचानपछि कार्यविधि संशोधन गरेर वर्गअनुसार पेन्सन तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताए । कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ ।

कार्यविधिअनुसार पशुपक्षीको हकमा ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फार्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा ब्रोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की १००, स्थानीय हाँस २५० हुनुपर्नेछ । कृषितर्फ ‘क’ वर्ग हुनका लागि कागती/सुन्तला/अमिलो/आँप/लिची जातका १०० बोट, उत्पादन दिने तरकारी टनेल १०, च्याउ घर टनेल ५, बिजवृद्धि पाँच रोपनी, कफी पाँच रोपनी, उखु १० रोपनी, खाद्यान्न २५ रोपनी र केरा भुँइकटहर प्रजाति १ हजार बोट हुनुपर्ने व्यावस्था कार्यविधिमा बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।

पशुपक्षी हकमा ‘ख’ वर्गको लागि गाईभैँसी चार माउ, बाख्रा १५ माउ, बङ्गुर सात माउ, ब्रोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ । त्यस्तै कृषिको हकमा ‘ख’ वर्गका लागि उत्पादन दिने कागती/सुन्तला/अमिलो/आँप/लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टनेल सात, च्याउ घर टनेल तीन, बिजवृद्धि तीन रोपनी, कफी तीन रोपनी, उखु सात रोपनी, खाद्यान्न २० रोपनी र केरा, भुँइकटहर प्रजाति ७०० बोट आवश्यक पर्ने प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाईभँैसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर पाँच माउ, ब्रोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीको हकमा ‘ग’ वर्गमा पर्नेछन् भने कृषिको हकमा ‘ग’ वर्गका लागि उत्पादन दिने कागती/सुन्तला/अमिलो/आँप/लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टनेल पाँच, च्याउ घर टनेल दुई, बिजवृद्धि दुई रोपनी, कफी दुई रोपनी, उखु दुई रोपनी, खाद्यान्न पाँच रोपनी र केरा भुँइकटहर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ । कृषकलाई पेन्सन दिने योजना बनाउने छत्रकोट गाउँपालिका गुल्मीमा पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्