२९ मंसिर, गुल्मी । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको सरकार विरुद्धको सडक प्रदर्शन गुल्मीमा पनि सम्पन्न भएको छ । गुल्मीमा भएको विरोध कार्यक्रमलाई काङ्ग्रेसका केन्द्रिय सदस्य जिवन परियारले सम्बोधन गरे ।
पार्टी कार्यालय बिपी स्मृति भवनबाट विरोध र्याली निकाल्दै काङ्ग्रेसले सरकार , जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रशासन विरुद्ध चर्को नाराबाजी समेत गरेको थियो ।
वर्तमान सरकारलाई बलात्कारी सरकार भन्दै गुल्मीका प्रहरी प्रमुख तथा सिडोओलाई नेकपाको झोलेको संज्ञा समेत काङ्ग्रेसले दिएको छ । साथै, त्यस्ता झोले सिडिओ र प्रहरी आफुलाई नचाहिने र आवश्यक परे लखेट्ने काङ्ग्रेस कार्यकर्ताले मञ्चबाटै उल्लेख गरे ।
त्यस्तै प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य जीवन परियारले पनि वर्तमान सरकारको चर्को आलोचना गरेका छन् । तनहुँको घटनालाई स्मरण गर्दै नेता परियारले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताए ।
वर्तमान सरकारका कारण मुलुकमा राजावादी सलबलाएको र सरकारको यस्तै दमन रहे आफुहरुले शसक्त प्रतिवाद गर्ने चेतावनी समेत उनले दिए ।