Logo

बागचौर साहित्यिक जमघटबारे बिरेन्द्र डिसीको अनुभूति



Spread the love

मलाई अनुभूति भइरहन्छ सल्यान साँच्चिकै सुन्दर छ। सल्यान सुन्दर मात्रै छैन यो भूमि उर्वर पनि छ। अदुवा, सुन्तला, आलु, तरकारी, धान, गहु मकैको उत्पादन हुने उर्वर भूमि त यो अवश्य हो त्यसका साथै डा. कृष्ण राज डि.सी. कमलमणि देवकोटा, पूर्ण भण्डारी “पंकज” जस्ता साहित्यिक हस्तिहरु जन्माउने भूमि पनि यही रहेछ। मलाई लाग्थ्यो सल्यान नेपाली भाषा साहित्यका केही महत्त्वपूर्ण व्यक्तित्वको जन्म थलो अवश्य हो। तर त्यसमा पनि बागचौर नगरीको यो भूमि कालजयी गीतका रचनाकार एवं कवि डा. कृष्ण राज डि.सी. हास्यव्यङ्य कलाकार एवं कथाकार कमलमणि देवकोटा, गजलकार एवं सल्यानी भाषा साहित्यका अनुसंधानकर्ता पूर्ण बहादुर भण्डारी “पंकज” काशिराज अधिकारी, पवन वलि, नरेश डि.सी., केशवराज देवकोटा, रमेश डाँगी, शक्ति चन्द जस्ता होनहार श्रष्टाको जन्मभुमि पनि यही रहेछ।

डा. कृष्णराज डि.सी. जुन नामको बारेमा एउटा विद्यावारिधि सल्यानी कवि, कोकिलकण्ठ स्वरका धनी र छन्द वाचन त्यो भन्दा बढी मलाई केही जानकारी थिएन। यसपटकको उहाँसँगको साहित्यिक अन्तरक्रियाको अवसरले वास्तवमा मेरो बुझाई अपर्याप्त थियो भन्ने कुरा प्रमाणित गरिदियो। “मरेको लास नराख घरमा”, “नरोए प्रिय म मरे भने”, “बिर्सियौ कि मायालु काफल खाएको” “सँगै बसेर शारदाको किनार” जस्ता कालजयी लोक भाकाहरूका रचनाकार र निशा-निरज (गीति खण्डकाव्य), मरुभूमिको फुल, आमाभन्दा ठुलो को छ ? र भगिरथ प्रयत्न जस्ता (कविता संग्रह), अल्बर्ट आईन्स्टाइन र गौतम बुद्ध, आमा ढलेको रात (खण्डकाव्य) जस्ता रचनाका सर्जक डा. कृष्णराज डि.सी. भन्ने मलाई पत्तो थिएन। आज नजिकबाट चिन्ने र चिनाउने अवसर पाएको अनुभूति गरिरहेको छु।

कमलमणि देवकोटा यो नाम र अनुहार केहिदिन पहिला मेरो दिमागमा थिएन जब कार्यक्रम गर्ने निर्णय गरियो मेरो कानमा पहिलोपटक त्यो नाम ओजदार रूपमा गुन्जियो र म उहाँको सम्पर्क मोबाइल नम्बर र साहित्यिक अन्तरंगको खोजीमा लाग्न थाले। जब मैले उहाँसँग पहिलो पटक जम्काभेट हुने अवसर पाएँ मेरो दिमागमा कमलमणि देवकोटाको बारेमा एउटा सरकारी कार्यालयका हाकिम र छन्द वाचन कवि बाहेक अरू केही थिएन तर म गलत रहेछु। उहाँ त नेपाली हास्यव्यङ्य विधाका अद्वितीय व्यक्तित्व पो हुनुहुदो रहेछ। गोरुजात्रा ( गाईजात्रे एल्बम), बोको ब्यायो (गाईजात्रे एल्बम), पंचामृत (मुक्तक संग्रह), चाँदनी (उपन्यास), स्यानिमालै (लोकगीत एल्बम), खिचडी (विविध संग्रह), अवसरवाद (लघुकथा संग्रह) जस्ता कृतिहरूका सर्जक अनि रेडियो कार्यक्रम संचालक र नेपाली रंगमञ्चका हास्य कलाकार पो हुनुहुदो रहेछ। जुन कुरा म लगायत म जस्ता थुप्रै सल्यानीहरूलाई थाहा रहेनछ।

यो अवसरमा उहाँहरूसँगै नजिकबाट साहित्यिक साक्षात्कार गर्ने अवसर पाएकोमा र उहाँहरू जस्ता महान हस्तीहरूको जन्मभुमि सल्यान जिल्ला अन्तर्गत बागचौर नगरीमा भएकोमा म गौरवान्वित भएको छु।

हाम्रो कार्यक्रमलाई यति महत्त्व दिएर त्यति टाढाबाट कस्टपुर्ण यात्रा गरेर उहाँहरू आउनुहोला र कार्यक्रम यति उत्साहजनक रूपमा सम्पन्न होला भन्ने सुरुवातमा हामीलाई लागेको थिएन मनमा झिनो आशा र विश्वास भने अवश्य थियो। लामो समय राखेर कार्यक्रम आयोजना गर्ने निर्णय गर्दा बिचको समय पट्यार लाग्दो हुन्छ कि जस्तो पनि लागेको थियो हाम्रा लागि थोरै समय अप्रयाप्त नै हुने रहेछ जुन सही समयमा गरिएको सही निर्णय थियो भन्ने महसुस गर्दै छु।

हाम्रो कार्यक्रमका लागि नगर प्रमुख र उप प्रमुख दुवैले यसरी समय दिनुहोला भन्ने पनि थोरै मात्र आशा थियो उहाँहरूको दिनभरिको साथ र सहयोग हाम्रा लागि सन्तुष्टिको महत्त्वपूर्ण कारण बनेको छ।

यस्तो कार्यक्रम आयोजना गर्दा आर्थिक श्रोतको विषयमा केही सोचिएकै थिएन। यसरी स्वस्पुर्त प्रायोजनको प्रस्ताव आउला भन्ने अलिकति अनुमान पनि थिएन। हामीसँग मात्रै आत्मविश्वास थियो कि हामी सही सोचले यो काम गर्दैछौं र सही सोचले गरेको कामको परिणाम पनि सही नै हुन्छ।

अग्रज साहित्यकार लाई नजिकबाट चिन्नु र चिनाउनुका साथै उहाँहरूबाट युवा पुस्तालाई प्रशिक्षित गराउनु र यस क्षेत्रबाट अंकुरित श्रष्टा र सिर्जनाको सम्मान र सम्वर्द्धन गर्दै बागचौरलाई एउटा साहित्यिक नगरीको रूपमा विकसित गर्न युवा पुस्तालाई थप प्रेरित गर्नु हाम्रो कार्यक्रमको मुख्य उद्देश्य थियो। जुन केही हदसम्म सफलता उन्मुख भएको मैले महसुस गरेको छु।

हामीले अनुमान गर्न नसकेको अर्को कुरा थियो अंशुबिन शर्मा, साबित खड्का, मनिषा अधिकारी जस्ता भर्खर भर्खरैका कलिला श्रष्टाहरुको उपस्थिति र प्रस्तुति जसले हाम्रो कार्यक्रमको थप महत्त्व पुष्टि गरिदिए।

अगाडि तिर मञ्चमा आशिन अग्रज गुरुहरू, दायाँबायाँ तिर कलिला नानीहरू र बिचमा उदाउँदै गरेका उर्जाशिल युवा श्रष्टाहरुका केही उत्सुकता अनि जोसिला र रसिला शब्द वाचनले कार्यक्रमको सान्दर्भिकता सहजै प्रस्ट हुन्थ्यो।

कार्यक्रम संचालन हुदैगर्दा मञ्चमा अग्रज गुरु पूर्ण भण्डारी “पंकज” सरको अनुपस्थिति हाम्रा लागि दु:खद रह्यो। स्वास्थ्य परीक्षण र व्यस्तताको कारण यो कार्यक्रममा उपस्थित हुन असमर्थ भएपनि निरन्तर फोन सम्पर्कमा रहेर पंकज सरले हामीलाई अमूल्य सल्लाह सुझाव दिईरहनु भएकोले व्यवस्थापनमा हामी केही सजिलो अनुभव गरिरहेका थियौँ।

काठमाण्डौमा रहनु हुने लोक गायक एवं सर्जक आदरणीय दाजु नरेश डि.सी. को अस्वस्थता र क्यान्सर रोगसँगको संघर्षको खबरले हामीलाई झनै दु:खित बनायो। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

विविध समस्याका बाबजुद पनि कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने तपाईँ सम्पूर्ण साहित्यिक अनुरागी मनहरूमा हृदय देखि धन्यवाद भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्