देशमा रोजगारी छैन भन्दै विदेशिनेको लामो लाइन छ। लाखौंको संख्यामा नेपालीहरु काम गर्न खाडी मुलुक जाने गरेका छन्। जोसंग शैक्षिक डिग्री छैन। अनि हजारौंको संख्यामा पढेलेखेका मान्छेहरु यूरोप र अमेरिकातिर जान्छन्। तर जाँगर हुनेलाई पैसाको लागि विदेश नै जानुपर्दैन । पाँच वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका मोरङ कटहरी–४ का कोपिन्द्र सिंहलाई अहिले आयआर्जनमा खासै समस्या छैन । नजिकैको विराटनगर बजारलाई आधार बनाएर तरकारी उत्पादनमा लाग्नु भएका सिंहले एक वर्षमै दस लाख आम्दानी गर्नुहुन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिंहको गाउँमै अहिले ब्लक निर्माण भएको छ । एक झ्याङमै २५ किलो टमाटर चार किलोसम्मको बन्दा उत्पादन गर्ने सिंह जिल्लाभरमै प्रतिष्ठित किसान हुनुहुन्छ । जिल्लास्तरीय राष्ट्रपति पुरस्कार, पूर्वाञ्चलस्तरीय राष्ट्रपति पुरस्कार र मोरङमा टमाटर खेतीतर्र्फ उत्कृष्ट किसान पदक तीन पटकसम्म सिंहको हातमा परिसकेको छ ।
पाँच वर्षदेखि लगातार तरकारी खेतीमा सक्रिय सिंहको पहलमा कृषि कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक निर्माण गरेको हो । दुई सय ४० घरधुरी किसान सम्मिलित ब्लकमा एक सय १० हेक्टर क्षेत्रफल जमिन तरकारी उत्पादनका लागि समेटिएको छ । टमाटर, बन्दाकोभी, मुला, आलु, मकै, सागसब्जी, बैगुनलगायत तरकारी त्यस ब्लकमा उत्पादन हुँदैआएको छ । चारवर्ष मलेसिया बसेर फर्केपछि त्यहाँ कमाएको तरकारी खेतीको पैसाले जग्गा किनेर घर निर्माण गरेको उहाँ बताउनुहुन्छ । कारमा कुद्ने किसानको पहिचान बनाउने योजनामा छु, सिंहले भन्नुभयो, आत्मानिर्भर उन्मुख तरकारी उत्पादन कसरी हुन्छ भन्ने उदाहरण बन्नु छ । यो खबर गोरखापत्रबाट साभार गरिएको हो ।