एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो क्वालिफायर अन्तर्गत बिहीबार भएको खेलमा साबिकको च्याम्पियन मुम्बई इन्डियन्सले जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स छैटौं पटक फाइनलमा पुगेको हो।
मुम्बई दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १४३ रनमै समेटियो।दिल्लीका स्टोइनिसले ४६ बलमा सर्वाधिक ६५ रन बनाए । अक्षर पटेल ३३ बलमा ४२ रनको योगदान दिदा कागिसो रबाडाले १५ रन जोडे । अन्य ब्याट्म्यान नचल्दा दिल्ली पराजित हुनु पर्यो।
दिल्लीको पारी धरासायी बनाउन जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ विकेट हात पारे । बोल्टले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिदा क्रुनाल पान्ड्या र काइरन पोलार्डको नाममा समान एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन बनाएको थियो । मुम्बईका लागि ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । सुर्य यादवले ५१ रन जोडे भने हार्दिक पाण्ड्याले १४ बलको सामाना गर्दै ३७ रनको योगदान दिए।
दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर तीन विकेट हात पार्दा मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए ।
फाइनल प्रवेशको लागि दिल्लीले शुक्रबारको एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीचको विजेतासंग भिड्नेछ ।