एजेन्सी। दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै दिल्ली क्वालिफायरमा पुगेको हो ।
बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा भेटायो । दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ थालेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
दिल्लीसँग पराजित बेङ्ग्लोर चौथो स्थानको कोलकता नाइट राइडर्स भन्दा नेट रन रेटले अघि रहेपछि प्ले अफमा स्थान बनाएको हो ।