काठमाडौं– सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
- राष्ट्रिय सभाको चुनाव माघ २४ गते
- मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप
- प्रदेश प्रमुख र राजधानी अर्को क्याविनेटले तोक्ने
मन्त्रिपरिषदले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । यी दुवै आयोगको म्याद थप्न कानुन संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । यी दुवै आयोगको विस्तारित अवधि आगामी माघ २६ गते सकिदैछ । अब बन्ने संसदले यी दुई आयोगको कार्यवधि विस्तारमा काम गर्न नभ्याउने हुनाले अध्यादेश सिफारिस गर्नुपरेको मन्त्री थापाले बताए । आयोगको म्याद थपिएसँगै अहिलेकै पदाधिकारीले निरन्तर काम गर्नेछन् ।
मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भनिएपनि आज तोकेको छैन । श्रममन्त्री फरमुल्लाह मन्सुरले भने, ’अर्को क्याविनेट बैठकले यसबारे निर्णय लिनेछ।’