Logo

सिमलटारीमै खुल्यो आँखा उपचार केन्द्र, तम्घास भैरहवा जाने बाध्यता हट्यो!



Spread the love

गुल्मी । गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका आठ सिमलटारीमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । शुक्रबार गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालले एक कार्यक्रमकाबीच आँखा उपचार केन्द्रको स्थापना गरेका हुन् । आँखा उपचार केन्द्र स्थापना भएसंगै पश्चिम क्षेत्रका चार स्थानीय तहका नागरिकले सेवा लिने छन् । भने सामान्य आँखाको उपचारको लागि सदरमुकाम तम्घास र भैरहवा जाने बाध्यता समेत हटेको छ ।

नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग, सेवा फाउन्डेसन नेपालको व्यवस्थापन सहयोग र मालिका गाउँपालिकाको पहलमा गुल्मीको सिमलटारीमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । आँखा उपचार केन्द्र स्थापना भएसंगै पश्चिम क्षेत्रका मालिका गाउँपालिकासहित मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका गरी चार वटा स्थानीय तहका नागरिकले सेवा लिने छन् ।

सामान्य आँखाको उपचारको लागि जिल्लाको विकट मानिने पश्चिम क्षेत्रका जनता तम्घास तथा भैरवहा उपचार गर्ने जान बाध्य थिए । भने अब त्यो बाध्यता हटेको छ । अब आँखाको ७० प्रतिशत उपचार सिमलटारी आँखा उपचार केन्द्रमै हुने नेत्र अधिकृत सूर्य बहादुर बस्नेतले जानकारी दिए ।

चार वटा स्थानीय तहका नागरिकलाई सेन्टर पर्ने र धेरै नागरिकले सेवा लिने भएकाले सिमलटारीमै आँखा उपचार केन्द्र स्थापना गर्न पहल गरेको नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सभापति शेर बहादुर थापाले बताए ।

यता, मालिका गाउँपालिकाले पनि आँखा उपचार केन्द्रलाई टिकाई राख्न र आफ्ना नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्न सदैव लागि पर्ने प्रतिबद्धता जनाएको छ । कर्मचारीहरूको पारिश्रमिक गाउँपालिकाले व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

पक्कै पनि आँखा जस्तो संवेदनशील अङ्गको उपचार आफनै गाउँघरमा पाउनु भनेको पश्चिम क्षेत्रका जनताको लागि खुसिको कुरा हो । संस्था स्थापनासंगै संस्थालाई टिकाई राखी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्