काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।
दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ ।
नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
नवरात्रको पहिलो दिन देवी शैलपुत्रीको पूजा आराधना गरी नवरात्रको सुरुवात गरिन्छ । शैलपुत्री भनेको पार्वतीको स्वरूप हो । आफ्ना पति महादेवको आलोचना सुन्न नसकेर अग्निमा हामफालेकी सतिदेवीले अर्काे जन्ममा हिमालयकी पुत्री पार्वतीको रुपमा जन्म भएको भन्ने स्कन्धपुराणमा उल्लेख छ । तिनै पार्वती स्वरुपको पहिलो दिन पूजा गर्ने गरिन्छ ।