कास्की, पुस १५ –यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डाक्टर जगमान गुरुङ सम्मानित हुनुभएको छ ।
कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रम अन्तर्गत बिहीबार उहाँको जन्मस्थल लेखनाथको अर्घाैँ अर्चलेमा भएको समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ५० हजार रुपैयाँ राशिको लेखनाथ साहित्य पुरस्कारबाट डाक्टर गुरुङलाई सम्मान गर्नुभएको हो ।
कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारबाट पुरस्कार स्थापना गरिएको हो । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत डा. गुरुङलाई यो पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताउनुभयो ।
कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छ वटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् ।
लेखनाथ साहित्य पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डाक्टर मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्राध्यापक बालकृष्ण पोखरेल सम्मानित भइसक्नुभएको छ ।