बाँके – सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका छोरा क्रान्ति अभिलाषीको खोजीका लागि बैजनाथ गाउँपालिका–५ की राधादेवी देवकोटाले बेपत्ता छानबिन आयोगमा उजुरी दिइन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।
०५८ पुस १५ मा तत्कालीन सुरक्षा फौजले क्रान्तिलाई पक्राउ गरी बेपत्ता पारेको परिवारको दाबी छ। ०७३ साउन ६ मा परेको उजुरीमा आयोगले छानबिनै नगरी उनको हत्या देखिन आएको उल्लेख गरी लिखितपत्र पठाएपछि परिवार आक्रोशित बन्यो। १६ वर्षदेखि बेपत्ता उनको हत्या कसले, कहाँ, कसरी र कहिले गरेको भन्ने खुलाइएको छैन। उनको शव कहाँ राखिएको छ, त्यसबारे सार्वजनिक गर्न परिवारको माग छ ।
पीडितले उजुरीमाथि छानबिन नगरी हचुवाकै भरमा मृतक घोषणा गरिएको आरोप लगाएका छन्। ‘छोराको हत्या भएको हो भने विस्तृत जानकारी आयोगले दिनुपर्यो । होइन भने हचुवा भरमा कसैको मृत्यु घोषणा गर्नु भएन,’ राधादेवीले भनिन्, ‘हत्या भएको हो भने हत्या गर्नेको नाम सार्वजनिक गर्नुपर्यो। छोराको शव कहाँ छ देखाउनुपर्यो।’
०६१ पुसमा बेपत्ता पारिएका राप्ती सोनारी गाउँपालिका– ४ का ज्ञानेन्द्र पोखरेलको हकमा पनि त्यही निर्णय गरेको छ । उनको खोजीका लागि आमा विष्णुले आयोगमा उजुरी दिएकी थिइन् । तर, आयोगले उक्त उजुरीको पनि छानबिन नगरी हत्या भएको घोषणा गरेको छ। १३ वर्षदेखि छोराको खोजीमा रहेकी विष्णुले आयोग पन्छिन खोजेको बताउँछिन् ।
‘छोराको खोजीका लागि वर्षौदेखि दौडधुप गरें। आयोगमा उजुरी दिएपछि अवस्था पत्ता लाग्ने आस थियो,’ उनले भनिन्, ‘आयोगको कामले फेरि पनि छोराको अवस्था थाहा पाउने आश मर्यो।’
राप्ती सोनारी गाउँपालिकाका कुलप्रसाद भण्डारी र राजन क्षत्रीका हकमा पनि आयोगले हत्या भएको भन्दै आयोगमा उजुरी पठाउने निर्णय गरेको छ।
‘बेपत्ता पारिएको भन्दै दिनुभएको उजुरी आयोगमा दर्ता भई आएकोमा हत्या देखिन आएकाले हत्यातर्फको छानबिनको क्षेत्राधिकार २०७१ को दफा १३ (५) बमोजिम यस आयोगलाई नभएका कारण सत्य तथा मेलमिलाप आयोगमा पठाउनू,’ बेपत्ता आयोगले पठाएको पत्रमा छ।