करिब ५ बर्षपछि राष्ट्रिय टोलिमा पुनरागमन। पहिलो अन्तर्राष्ट्रिय टी २० सिरिज अन्तर्गत मालदिभ्सविरुद्ध १३ बलमा बिना रन ६ विकेट । डेब्युमा उत्कृष्ट प्रदर्शनसहित विश्व कीर्तिमान रचे। निक्कै अविस्मरणीय रह्यो मेरा लागि १३ औँ दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिता । राष्ट्रिय टोलीबाट पहिले पनि खेलेको थिए। तर, मेरो लागि सिनियर टिमबाट अन्तर्राष्ट्रिय खेल पहिलो थियो, त्यो पनि घरेलु दर्शकसामु। त्यसैले विशेष रह्यो ।मालदिभ्सविरुद्धको उत्कृष्ट प्रदर्शनपश्चात् धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा थपिएको छ ।
कुरा ८ वर्ष अघिको हो, हाम्रो सुदूरपश्चिममा पहिले देखि नै क्रिकेटको क्रेज अत्याधिक छ। त्यसमाथि पनि मेरो घरमा क्रिकेटको माहोल पहिले देखिनै थियो। एकदिन दाइले महिला क्रिकेटको पनि खेल छ, खेल्ने हो ? भनेर सोध्नुभयो र मैले पनि सहजै हुन्छ भनेँ। त्यसपछि मेरो क्रिकेट यात्राको आरम्भ भयो।
सुरुमा मैले जिल्ला छनोटदेखि क्षेत्रीय छनोट हुँदै यु – १९ हुँदै राष्ट्रिय टिममा स्थान बनाए। निरन्तरको प्रयास र मिहिनेतले मलाई राष्ट्रिय टोलिमा स्थान बनाउन गाह्रो भएन।साथै, परिवारको साथले क्रिकेटमा जम्न खासै गाह्रो परेन।
क्रिकेट, क्रिकेट अनि क्रिकेट ।अहिलेसम्म मेरो जीवन यही हो। आजको दिनमा म जे छु, जहाँ छु, यही क्रिकेटले गर्दा नै छु जस्तो लाग्छ। राष्ट्रिय टोलीबाट खेल्नु सबैको सपना हुन्छ। क्रिकेट खेल्न थालेपछि मेरो पनि सपना नै हुने भयो। सन् २०१२ मा पहिलोपटक नेपाललाई खेलमार्फत विश्वसामु चिनाउने अवसर मिल्यो । म नेपालको यु – १९ महिलाको राष्ट्रिय टिममा पर्न सफल भए। डेब्यू खेलचाहिँ सिंगापुरमा हङकङविरुद्ध खेलेको थिएँ। पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले टिममा धेरै योगदान रहेन। मैले हङकङविरुद्ध फिल्डिङ मात्र गर्ने मौका पाए।
सन् २०१४ मा कोरियामा भएको एसियन गेम्समा बंगलादेशविरुद्धको टी–२० खेल खेल्ने अवसर जुट्यो। त्यसपश्चात् पारिवारिक कारणका साथै मलाई चोटले समेत सतायो। त्यसपछि, करिब ५ बर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गत वर्ष सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत अन्तर्राष्ट्रिय खेलमा सहभागी भए।
विवाहपछि पनि परिवारबाट धेरै सपोर्ट छ, त्यसैले आफ्नो कर्मलाई निरन्तरता दिने कोसिस गर्दैछु । परिवारको साथ नपाएको भए कसरी खेल्न सक्थेँ र ? श्रीमान्, बुबा–ममी सबैले साथ दिनुभएको छ ।
घरेलु दर्शकसामु भएको १३ औँ सागमा कोचले कीर्तिमान राख्यौ भन्दा म निक्कै खुसी भए।थाहै नपाई मैले वल्ड रेकर्ड राखेछु । त्यसपछि त मेरो खुसीको कुनै सीमा नै रहेन।
सागले मलाई विश्वस्तरमा चिनाएको छ।मालदिभ्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा बनाएको कीर्तिमान मेरो जीवनको सबै भन्दा ठुलो उपलब्धि बन्न पुग्यो। साग सकियो । तर, यसका स्मृतिहरू मनमस्तिष्कमा भरिएका छन् । सायद कहिल्यै मेटिने पनि छैनन् ।
नेपालमा गत वर्ष पहिलोपटक महिला फ्रेन्चाइज क्रिकेट भयो। जसले गर्दा मलाई पुनः राष्ट्रिय टोलीमा स्थान बनाउन सजिलो भयो। मैले विपक्षी टोलिविरुद्ध शतक प्रहार गर्ने क्रममा ९५ बलको सामाना गर्दै १११ रन बनाउँदै घरेलु लिगमा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेकी थिए।
अझै पनि केटीले क्रिकेट खेल्छन् र भन्ने मानसिकता तोडिएको छैन । यस्ता कुराले क्रिकेटमा करिअर बनाउन मेहनत गरिरहेका हामीजस्ता खेलाडीलाई निकै बिझाउँछ। तर, अब क्रिकेट नै हो जिन्दगी । बेलाबेला क्रिकेटले के दियो त ? भन्ने प्रश्न आउँछ । तर क्रिकेटले के दियो भन्दा पनि मैले के दिएँ भन्ने कुरा मुख्य हो ।
यहाँ धेरै खेलाडी खेलकुदमा वित्थामा लागेछु भन्छन् । तर मलाई भने त्यस्तो लाग्दैन । खेलकुदमा लागेकोमा गौरव गर्छु ।
जीवनमा जस्तो उतारचढाव आए पनि मैले क्रिकेट खेल्न कहिले छाड्दिन । करिब ५ बर्षपछि फेरि राष्ट्रिय टोलिमा कम्ब्याक गरेकी छु। यो बीचमा कति पिडा भएको थियो । त्यो मलाई मात्र थाहा छ। त्यसैले आगामी दिनमा कसरी राम्रो प्रदर्शन गर्न सकिन्छ भनेर म पूर्ण रूपमा तयार छु।
हाम्रोमा राष्ट्रिय प्रतियोगिता कम भएर पनि खेल स्तर माथि उठ्न नसकेको हो । राष्ट्रिय प्रतियोगिताहरू धेरै हुनुपर्छ । राष्ट्रिय लिग, खेलहरू भए नयाँ खेलाडीले खेल्छन् । म्याच एक्सपोजर पनि हुन्छ । त्यसो भए हाम्रो खेलाडी पनि माथि पुग्छन् जस्तो लाग्छन् । सरकारी क्षेत्रबाट त खासै केही पनि भएको छैन । अहिले बल्ल महिला क्रिकेटरले पनि सेन्ट्रल कन्ट्रयाक्ट गर्न पाएका छन्। यसले केही आशा पक्कै जगाएको छ। सरकारले नै सबै गरिदिनुपर्छ भन्ने छैन । तर खेलेर बाँच्ने आधार सरकार र क्यानले बनाइदिनुपर्छ ।
यतिबेला महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले विश्वलाई आक्रान्त पारेको छ। जसमा नेपाल पनि अछुतो छैन । देशभर विभिन्न क्षेत्रमा कोरोनाले प्रभाव पारेको छ।साथै, यतिबेला खेलकुद गतिविधि समेत ठप्प छ। विभिन्न मुलुकमा भने खेलकुदका गतिविधि पुनः सञ्चालनमा आइसक्यो । तर,बढ्दो कोरोना सङ्क्रमणका कारण नेपालमा भने खेल सञ्चालनमा आउने कुनै छाटकाट छैन । करिब ७ महिनासम्म कुनै खेल गतिविधि नहुँदा खेलाडी मारमा पर्नुका साथै, कतिपय खेलाडीलाई आफ्नो फिटनेसमा समेत समस्या आउने होकि भन्ने चिन्ताले पिरोल्न थालेको छ।
प्रस्तुति – भावना पण्डित