४ असोज, गुल्मी – दस वर्षे जनयुद्धका कारण १७ हजार नेपालीले ज्यान गुमाए । कयौं अङ्गभङ र बेपत्ता भए । कति बुवाआमाको काख रित्तियो, धेरै बालबालिका टुहुरा भए । दस वर्षसम्म विकासका काम ठप्प भए भएका संरचना पनि ध्वस्त भए ।
यो सबैको क्षती एकातर्फ र अहिले मुलुकमा जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले यस युद्धको क्षेतिपुर्ती तिर्न सक्छ त ?
जनयुद्धका सबै पक्ष गलत छन् भन्ने पनि छैन । जनयुद्धका कारण मुलुकमा केहि ठुला परिवर्तन पनि भए । तर जनयुद्धमा आफ्नो ज्यान हत्केलामा राखेर तत्कालीन सरकारसँग अहोरात्र लडेका र परिवर्तनका निम्ति आफ्नो सर्वस्व गुमाएका ति नागरिकको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।
जनयुद्धकै कारण द्वन्द्व पीडित या विभिन्न बहानमा नक्कली पीडितहरुले अकुत सम्पत्ति आर्जन गरेकै छन् । तर, वास्तवि पीडित खान लाउन संषर्षरत छन् ।
तत्कालीन समयमा राज्य पक्षबाट लडेका सिपाहीहरुको अवस्था संतोषजनक भएता पनि तत्कालीन समयमा विद्रोही मानिने माओवादी पक्षबाट लडेका योध्दाहरुको अवस्था निकै नाजुक र दयनीय छ । यसको एक उदाहरण हुन्, अहिलेको धुर्कोट गाउँपालिका वडा नम्बर सात वाग्लाका धनिश्वर गिरि (मुक्तिराम) गिरी ।
वि. सं. २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले तत्कालीन गुल्मीको वाग्ला गाविसको चौतारा भन्ने स्थानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट प्रभावित भएर गिरि माओवादीमा प्रवेश गरेका थिए ।
“हामी दरबारका तीन पाले राप्रपा ,काङ्ग्रेस एमाले ” भन्ने गितले नै उनलाई माओवादीमा लाग्न प्रेरणा दियो ।सास्कृतिक समुहमा आबद्ध रह्दै माओवादी लाई सहयोग गर्दै उनि अघि बढिरहेका थिए ।
२०६० साल असोज २५ गते दाङको भालुवनङको लडाइमा उनि माओवादीको भान्सेको रुपमा काम गरेको बुझिएको छ । त्यस युद्धका पुर्व माओवादी लडाकु भरत पौडेल भन्छन् “त्यो युद्ध हाम्रो आंशिक जित हो । तर, हामिले धेरै क्षती व्यहोरेका हौँ । “
हाम्रा कयौँ स्वास्थ्यकर्मी ,भान्से तथा कायम लडाकु योद्धालाई सेनाले मारेको थियो । धनिश्वर गिरि त्यस युद्धमा बच्न सफल रहे ।
यस्तो छ उनको जेल जिवनको यात्रा ।
गिरिको अहिले मानसिक अवस्था ठिक छैन । उनले विगत बिर्सिसकेका छन् । तर, उनिसँगै पक्राउ परेका र हिरासतमा बसेका उनकै सहकर्मी झविन्द्र भण्डारीसँग हामिले सम्पर्क गरेका थियौँ ।
तत्कालीन गाउँ सरकारको जनसरकार प्रमुखको कार्यभार सम्हालेका भण्डारी र गिरिलाई एकै दिन २०६० साल पुस १८ गते नेपाल प्रहरी र सेनाको टोलिले गिरफ्तार गर्यो । भण्डारीलाई आफ्नै घरबाट गिरफ्तार गरिएको र गिरिलाई घरदेखि माथि चौतारा भन्ने स्थानबाट गिरफ्तार गरिएको भण्डारी सम्झन्छन् ।
गिरफ्तारपछि ६ महिनासम्म हरेक प्रकारका यातना सहँदै गुल्मी स्थित नेपाली सेनाको ब्यारेकमा आफ्नो समय बिताए भने एक वर्षसम्म जिल्ला कारागार गुल्मीमा बसे । करिब १८ महिनाको जेल र नेपाली सेनाको हिरासतको बसाईपछि पोखरा लगिएको भण्डारीले सल्लेरी खबरलाई बताए ।
६ महिना पोखरा कारगारपछि भण्डारी २०६२ साल पुस १३ गते रिहा हुँदै खुल्ला आकाशको अनुभूति गरे । भने गिरिलाई २०६२ साल चैतमा मात्रै रिहा गरियो ।
झविन्द्र भण्डारी भन्छन्, ‘उहाँको मानसिक सन्तुलन पहिले देखि नै राम्रो थिएन । हिरासत र जेल काटेपछि अवस्था झनै बिग्रियो । तर, उनका छिमेकीले भने पहिला मानसिक अवस्था ठिक भएको र जेल जिवन काटे पछि बिग्रिएको बताउँछन् ।
बुबाआमा गुमाईसकेका गिरी अहिले ४१ वर्षका भए भने अविवाहित नै छन् । उनका एक जना दिदि र एक भाइले विवाह गरिसके ।
आफ्नो जिवनको अमुल्य समय युद्ध र परिवर्तनका लागि दिएका गिरीलाई अहिले दुई छाक खान समेत मुस्किल छ । राहतको नाममा एक पटक २० हजार र अर्को पटक २५ हजार पाएको रकम लिन उनले अस्वीकार गरेको उनका सहयोद्धा भण्डारी बताउँछन् ।
एक/ दुई महिना भनौं वा दुई/ चार वर्ष जेल काटेका नेताले परिवर्तनको लागि जेल काटेको भन्दै खुल्ला मञ्चबाट भाषण ठोक्दै मन्त्री–सांसद्को पदमा रजाइ गरेका छन् । त्यहाँसम्म पुग्न नसकेकाले पनि विभिन्न पीडितको बाहनामा धनसम्पत्ति आर्जन गरेकै छन्। तर, जनयुद्धका यी वास्तविक पीडितले कहिले पाउछन् राहत र कहिले गर्छन् परिवर्तनको अनुभूति ?