Logo

किन बढ्दैछ महोत्तरीमा संक्रमण र मृत्यु ?



Spread the love

१८ भदाै, जलेश्वर – कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

भदौ लागेयताका पछिल्ला १७ दिनभित्रै कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । साउन मसान्तमा ४५ रहेको यो सङ्ख्या हिजो बुधबारसम्ममा ९५ पुगेको हो । बयालीस जनाको साउनमा, एकजनाको असारमा र दुईजनाको जेठमा मृत्यु भएको थियो । मृतकमध्ये पर्साका सर्वाधिक ३६ जना परेका छन् । यसैगरी बाराका १५, धनुषाका १२, महोत्तरीका १०, सिरहाका आठ, सप्तरीका छ, रौतटहका पाँच र सर्लाहीका तीनजनाको कोभिड–१९ महाव्याधिले ज्यान गएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएका मृतकको कुल सङ्ख्या ९५ मध्ये ५० भदौ लागेयताका घटना भएको निर्देशनालयका निमित्त निर्देशकको जिम्मेवारीमा समेत रहनुभएका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

यसैगरी जारी भदौका हालसम्म (बुधबारसम्म) नै तीनहजार ५६१ नयाँ सङ्क्रमित थपिएका छन् । गत साउनभरिमा तीनहजार ५४ मा सङ्क्रमण पुष्टि भएको थियो । अहिले प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या १० हजार ५५६ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये एक हजार ८९७ असारमा, एकहजार ९१९ जेठमा, ९२ जना वैशाखमा र तीनजना चैत महिनामा सङ्क्रमण पुष्टि भएका वरिष्ठ स्वास्थ्य प्रशासक झाले स्पष्ट पारे ।

प्रदेशमा सबैभन्दा बढी पर्सा जिल्ला सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । पर्सामा हालसम्म (बुधबारसम्म) दुईहजार २२३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरि रौतहटमा एकहजार ६५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबारसम्म धनुषामा एकहजार ६३४, सर्लाहीमा एकहजार ६१४, महोत्तरीमा एकहजार २८३, बारामा ९१३, सप्तरीमा ८०६ र सिरहामा ४१२ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक झाले जानकारी दिए ।

प्रदेशका कुल सङ्क्रमण पुष्टि भएमध्ये उपचारले निको भएकाहरुको सङ्ख्या पाँचहजार ७१ पुगेको छ । सप्तरी र सिरहामा अहिले २०४ र ९४ जना उपचार गराइरहेका छन् । यता प्रदेशका अन्य छ जिल्लामध्ये उपचार गराइरहेकामा पर्सा अझै एकहजार माथि देखिएको छ । पर्साका ९५४ जना निको भएर फर्के पनि एकहजार २७९ जना अझै आइसोलेसनमा छन् । यसबाहेक सर्लाही, महोत्तरी, रौतहट, धनुषा र बारामा उपचार लिइरहेका सङ्क्रमितको सङ्ख्या ५०० र एकहजारको बीचमा देखिएको निर्देशनालयले जनाएको छ ।

गत साउन ७ गते सङ्घीय सरकारले लकडाउन हटाएयता सङ्क्रमण ह्वात्तै बढेपछि साउन अन्तिम साताको प्रारम्भदेखि नै प्रदेशका जिल्लाजिल्लामा एकपछि अर्को गर्दै निषेधाज्ञा घोषणा गरिन थालिएको थियो । भदौ १ गतेसम्म प्रदेशका आठै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी सकेका थिए । अहिलेसम्म अवधि थप्दै आठवटै जिल्लाले यो क्रमलाई निरन्तरता दिँदै आएका छन् । यद्यपि सप्तरीमा भने केही स्थानीयतहको क्षेत्रमात्र तोकेर अब निषेधाज्ञाको क्षेत्र घटाइएको छ । सबैतिर निषेधाज्ञा जारी रहेको यस अवधिमै सङ्क्रमण र मानवीय क्षति निकै बढेकोतर्फ स्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् । निषेधाज्ञाबीच आम मान्छेको हेलचेक्र्याइँ निकै बढेको देखिँदो छ ।

जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरिए पनि साना सवारी साधन (मोटरसाइकल, साइकल, टेम्पो, जिप) निर्वाध सञ्चालनमा रहनु, आम मानिसले शारीरिक दूरी निर्वाहको ख्याल नराख्नु, भिडभाड र मेला जात्रा रोकिन नसक्नु र पछिल्लो कालमा स्थानीयतहहरु कोभिड–१९ विरुद्ध सचेतना विस्तारमा उदासीन देखिनु सङ्क्रमण वृद्धिका मुख्य कारण रहेका विज्ञहरुको भनाइ छ ।

“हेर्नोस् त सडकमा भिड, कोही कसैलाई चिन्ता देखिँदैन”, सडकको भिडतर्फ इङ्गित गर्दै स्वास्थ्यक्षेत्रमा वरिष्ठ जनस्वास्थ्य निरीक्षक पदमा लामो सरकारी सेवाबाट अवकास लिएका बर्दिवास–१४ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाले भने, “निषेधाज्ञा स्थानीय प्रशासनले जारी गर्ने कानूनी व्यवस्था भए पनि स्थानीय तहको सक्रिय सहभागिताबिना यो सफल हुने छाँट छैन ।” मुख्यरूपले स्थानीय तहका प्रतिनिधि सोझो रूपमा जनतासँग सम्बन्धित हुने हुँदा कोभिड–१९ विरुद्धको सचेतना अभियान वडातहमा सबैभन्दा बढी प्रभावकारी हुनसक्ने स्वास्थ्यकर्मी झाको ठम्याइ छ ।

प्रदेशका जिल्लाहरुमा यसअघि सङ्क्रमणको प्रारम्भिक चरणका बेला राहत वितरणमा देखिएको स्थानीय तहको सक्रियता अहिले स्वात्तै सेलाएको छ । अहिले गाउँ÷नगर बस्तीमा सचेतना अभियान सक्रियतापूर्वक बढाउन स्थानीय तहका पनि वडा समितिहरु बढी क्रियाशील बनाइन पर्ने आवश्यकता देखिएको सरकारी सेवाबाट अवकास लिनुभएका महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा पूर्वप्रशासक तेजनारायण सिंह थारु बताउँछन् । खासमा वडा समितिले सञ्चालन गर्ने सचेतना अभियानभित्रै अतिविपन्न परिवारको पहिचान गर्दै उनीहरुको चुलो निभ्न नदिने काम पनि सँगसँगै बढाएमात्र निषेधाज्ञा प्रभावकारी हुने सिंहको भनाइ छ ।

प्रदेशमा अझै पिसीआर परीक्षण व्यापक बनाउन सकिएको छैन । स्वास्थ्य उपकरण, किटको पर्याप्तता र दक्ष जनशक्ति आवश्यकतानुसार भएमात्र यसले गति लिनसक्ने निर्देशनालयका विज्ञ बताउँछन् । यसका लागि तीनै तहका सरकारको प्रत्यक्ष समन्वय र साझा अभियान आवश्यक रहेको नाम बताउन नचाहने निर्देशनालयका एक विज्ञको धारणा छ । प्रदेशमा हालसम्म (भदौ १७ सम्म) एकलाख ५८१ जनाको स्वाब सङ्कलन गरिएको छ । तीमध्ये ८४ हजार ६०७ को नतिजा नेगेटिभ छ । पाँचहजार ४१८ को नतिजा आउन बाँकी रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झा बताउँछन् ।

पछिल्लो कालमा (भदौ लागिकन) सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्ने ह्वात्तै बढेका छन् । प्रदेशभरिमा अहिले चारहजार ३०० सङ्क्रमित स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा छन् । घरमा रहँदा परिवारजनको चासो र रेखदेख, सन्तुलित खानपानले चाँडै ठिक हुने बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको सङ्ख्या बढेको झाको स्वीकारोक्ति छ । अहिले प्रदेशभरि सञ्चालित आइसोलेसन कक्षमा एकहजार ९० जना छन् । त्यसैगरी होम क्वारेन्टिनमा बस्ने एकहजार ६३१ र क्वारेन्टिन केन्द्रमा बस्ने ६३५ जना देखिएका छन् ।

कोभिड–१९ सङ्क्रमण बढ्न नदिन सबैभन्दा मुख्य कुरा शारीरिक दूरी निर्वाह अत्यन्त महत्वपूर्ण रहेको स्वास्थ्य विज्ञ बताउँछन् । मास्कको प्रयोग, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार र आराम सङ्क्रमणबाट बच्ने उपाय हुन् । प्रदेशमा पछिल्लो कालमा सङ्क्रमण ह्वात्तै बढ्नुमा यहीं नै लापरवाही भएको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् । “स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनको आग्रह, अनुरोध अवज्ञा गर्ने आम प्रचलन बढेको छ”, झाले चिन्ता व्यक्त गर्दै भने, “यो अवस्था ठिक लिकमा ल्याउन तत्काल राजनीतिक दल र स्थानीय तहका प्रतिनिधिले पहलकदमी लिन पर्छ ।”

प्रतिक्रिया दिनुहोस्