वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन ।
दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो । त्यसयता ओली-दाहाल भेट भएको छैन । ओलीले चुनाव परिणामपछि बुधबार दाहालसँग छलफलका लागि आग्रह गरेका थिए ।
तर, दाहालले आफू मतदाताबीच व्यस्त रहनुपर्ने कारण खुलाएपछि ओली-दाहालबीच बुधबार भेट हुन पाएन । दाहाल बिहीबार मध्याह्न मात्र काठमाडौं आइपुग्नेछन् । भरतपुर महानगरपालिका वडा नम्बर ६, ८ र ९ का मतदातासँग बिहानै भेटेर मध्याह्नसम्म काठमाडौं आउने गरी दाहालले कार्यक्रम बनाएका छन् ।
दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले अन्नपूर्णलाई बताए ।
‘ओलीजीले बुधबार नै भेटघाटको कुरा गर्नुभएको थियो तर अध्यक्ष (दाहाल)को जिल्लामै कार्यक्रमको व्यस्तताका कारण सम्भव भएन । बिहीबार दुई नेताबीच भेट भएर छलफल हुन्छ’, उनले भने ।
दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ । निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ । तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।