असार ६, गुल्मी । सरकारी जागिरप्रतिको मोह वर्तमान अवस्थामा जस्तो छ, आज भन्दा ३०/३५ वर्ष अगाडि पनि यत्तिकै थियो । त्यतिखेर नेपालमा भन्दा बढी भारतमा गएर सरकारी जागिर गर्ने अझ प्रशस्त मात्रामा भेटिन्थे । तर त्यो समयमा पनि सरकारी जागिर छोडेर नेपालमै अरू केही गर्छु भनेर फर्किएका पनि उदाहरण छन् ।
यसको एउटा उदाहरण गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा हुन् । उनी वि.सं २०३५ सालमा भारतमा सरकारी जागिर गर्दथे । केही समय भारतमा सरकारी जागिर गरिरहँदा प्रदेशको पीडा र दुखका कारण उनको मनमा नेपाल मै केही गर्छु भन्ने भावना पलाएको उनी बताउँछन् । उनी भन्छन्, “मानिस स्वतन्त्र हुन पाउनु पर्छ । अरुको अधिनमा बस्न र उपनिवेश बन्न मेरो मनले मानेन ।”
केही समय भारतमा सरकारी जागिर गरेका उनी नेपाल फर्केपछि गाउँमै बाख्रा पालन सुरु गरे । उनले संचालन गरेको लालीगुराँस बाख्रा फार्ममा अहिले ७३ वटाको संख्यामा बाख्रा छन् । सुरुमा तीनवटा बाख्राबाट पाल्न सुरु गरेको बाख्रा फार्म संचालक महताराले बताए । बाख्रा फार्मबाट उनले मासिक रुपमा औसत रूपमा तीस हजारभन्दा बढी कमाउने गरेको बताउँछन् । उनको फार्ममा माउ बाख्रा ४५ , बोका १५ र पाठापाठी १३ को संख्यामा रहेका छन् । उनी बाख्रा पालनसँगै समाजसेवामा पनि उत्तिकै अग्रसर रहेका छन् ।
वि.सं २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भइ बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि उनी छापहिले वडा नम्बर ८ को वडाध्यक्ष भए । उनको कार्यकाल ५ वर्षको रह्यो । महतराले पाँच वर्षको समयावधिमा गाउँमा निकै उल्लेख्यनीय काम गरेको स्थानीय बताउँछन् । नेपालमा पहिलो पटक जग्गाको नापजाँच हुँदा उनले वडाध्यक्षको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । गाउँमा पाटीपौवा, धारा, चौपारी बनाउनेदेखि लिएर थुप्रै विकास निर्माणका काममा मुख्य देन रहेको महताराको भनाइ छ । उनी अरुको अधिनमा रहेर बस्न चाहंदैनन् । अझ विदेश भनेपछि वाक्क नै मान्छन् । विदेशमा गए घुम्न मात्रै जाने काम गर्न नजाने महताराको भनाइ छ ।
उनी भन्छन्, “सकेसम्म विदेश जान हुन्न । मेरो घरपरिवारका अहिलेसम्म कोही विदेश गएका छैनन् ।” उनका पाँच छोरा र दुई छोरी गरी सात सन्तान छन् । सबै जागिर तथा पढाइका लागि घरबाहिर छन् । श्रीमतीले पनि बाख्रा फार्ममा उनलाई सघाउँछिन् । सात सन्तान हुर्काउन, बढाउन र पढाउन बाख्रा फार्मको आम्दानीले नै पुगेको जनाउँछन् ।
महतारा अहिले ६८ वर्षका पुगे । ६८ वर्ष पुग्दा समेत तंपाई बाख्रा फार्ममा रमाइरहनु भएकोे छ, यो तंपाईको बाध्यता वा रहर हो ? भन्ने प्रश्नमा उनी भन्छन् – जीवन एक सङ्घर्ष हो । हामी मृत्युअघि सम्म सङ्घर्षरत हुनुपर्छ ।
बाध्यता र रहरमा होइन, जीवन निरन्तर सङ्घर्षमा हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन् , “२०/२५ वर्षसम्म बाख्रासँगै दौडिरहेको छु । मैले चाहेको भए भारतमै जागिर गरेर अहिले पेन्सन हुन्थ्यो हाेला । तर, म अरुको उपनिवेश बनिंन । नेपालमै सङ्घर्ष गरिरहेँ । आज पनि सङ्घर्ष गरिरहेको छु । जसका कारण म स्वतन्त्र छु ।”
विदेश जानुभन्दा त नेपालमै केही गरेर जीवन सुन्दर बनाउनुपर्ने उनकाे विचार छ । महतराले बाख्रा फार्मबाट वार्षिक रुपमा बोकाबाख्रा गरी ३५ वटाभन्दा बढी बिक्री गर्ने गरेका छन् । उनले अहिलेसम्म छापहिलेसँगै मालिका, मदाने र इस्मामा बिक्री हुने गरेको बताए । स्थानीय सरकारको सहयोग साथ पाए बाख्रा पालन व्यवसायलाई बढाउने उनको चाहना छ । स्थानीय सरकारबाट अनुदान नपाएको उनी गुनासो गर्दछन् ।
उत्पादन अनुसार अनुदान दिने गाँउपालिकाको नीति ।
गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाँउपालिका भौगोलिक हिसाबले विकट मानिछ । स्वदेशमै केही गर्ने खोज्नेलाई गाउँपालिकाले केही राहत प्रदान गरेको गाउँपालिकाको दावी छ । किसानको उत्पादन अनुसार अनुदान दिंदै आएको गाँउपालिकाले बताएकाे छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीले सल्लेरी खबरसँग हामीले उत्पादनमा आधारित अनुदान दिने व्यवस्था गरेकाे बताए ।
उनले सहकारीको माध्यमबटा आफूले उत्पादन गरेको मासु किनबेच गरेमा प्रतीकेजी सय रुपैयाँ अनुदान दिंदै आएको जानकारी गराए । मालिका गाउँपालिका वडा नम्बर छ मा रहेको मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाको माध्यमबाट अहिले गाउँपालिकाले मासु तथा तरकारीजन्य वस्तुहरु बिक्रीवितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिका भरीका १२ जना किसानले १ लाख ६४ हजार रकम अनुदान प्राप्त गरेका थिए भने यो वर्ष ९९ जना किसानले १२ लाख ९५ हजार सात सय रकम पाउने सहकारीकी व्यवस्थापक हिमा रेग्मी अर्यालले बताईन ।