स्टार फुटबल खेलाडी लियोनल मेसीले फुटबल क्लब बार्सिलोनासँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार मेसी २०२०/२०२१को सिजनसम्म बार्सिलोनामै रहनेछन् ।
फुटबल क्लब बार्सिलोनाले मेसीसँग भएको नयाँ सम्झौताको तस्बिर ट्वीटरमा सार्वजनिक गरेको छ । पाँचपल्टका बलोन डि ओर विजेता खेलाडी मेसीलाई किन्न चाहने क्लबले अब ७०० मिलियन युरो खर्च गर्नुपर्ने भएको छ ।
नयाँ सम्झौता अनुसार मेसीले बार्सिलोनाबाट खेलेबापत प्रतिहप्ता ५ लाख पाउण्ड (झण्डै ७ करोड नेपाली रुपैयाँ) पाउनेछन् । साथै उनले ‘साइनिङ बोनस’ माफर्त ८० मिलियन पाउण्ड पाएका छन् ।
३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।
शुक्रबार मात्र चौथो युरोपियन गोल्डेन बुट जितेका उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन् ।उनको पूर्व सम्झौता अर्को वर्ष सकिँदै थियो । बार्सिलोनाले जुलाइमा नै मेस्सी नयाँ सम्झौताका लागि सहमत भएको दाबी गरेको थियो । तर, सम्झौतामा हस्ताक्षर भएको थिएन ।