रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । रुकुमकोटबाट मुसीकोटका लागि छुटेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार राति ८ बजे तिर दुर्घटना हुँदा दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाको ज्यान गएको हो ।दुर्घटनामा रुकुमकोटका प्रहरी निरीक्षक नविन श्रेष्ठ, उहाँकी श्रीमती प्रहरी निरीक्षक अनिता प्रधान, भलिबल खेलका राष्ट्रिय रेफ्रि मुसीकोट–१ का जनक शाह, गाडी व्यवसायी सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, शिक्षिका सुरेखा शाह श्रेष्ठ र यमुना मल्लको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । शेरबहादुर, सुदन र सुरेखा बुवा, छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका जिप चालक प्रेम थापासहित यात्रुहरु प्रेम केसी र टेकवहादुर खत्रीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । तीन दिनअघि मात्र विवाह गरेका प्रहरी निरीक्षकद्वय नविन र अनिता विवाह सकेर कार्यक्षेत्रमा फर्किने क्रममा जिप दुर्घटनामा पर्नुभएको हो ।