एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउड शोकमा डुबेको छ । यसका साथै बलिउडमा नातावादको पनि बहस चर्किन थालेको छ । धेरैले सुशान्त बलिउड बाहिरको हुनाले उनलाई अपहेलना गरिएको र उनी सोही कारणले डिप्रेशनमा गइ उक्त कदम उठाएको ठम्याएका छन् ।
सुशान्तसिंहको मृत्युपछि उनका समर्थकहरु दुखी भएका छन् । उनीहरुले करण जोहर, सलमान खान र आलिया भट्टजस्ता स्टारहरुलाई नातावादको आरोप लगाइ सुशान्तको हत्या भएको बताएका छन् ।
सुशान्तको मृत्युको विरोधमा पटनामा विरोध प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा सुशान्तका समर्थकहरुले करण जोहर, सलमान खान र आलिया भाट लगायतका स्टारहरुको पुतला जलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसका साथै समर्थकहरुले बलिउडमा नातावादलाई बढावा दिने कलाकारहरुको फिल्म बहिष्कार गर्ने पनि अपील गरेका छन् ।
सुशान्तसिंह राजपुत बिहारबाट आएका थिए । बिहारका धेरै राजनेता र सामाजिक कार्यकर्ताहरू सुशान्तको आत्महत्यामा खेद प्रकट गरेका छन् । उनीहरुले सलमान खान र करण जोहरलाई केस हाल्ने बताएका छन् । केही मानिसहरुले करण र सलमान खानले गर्दा सुशान्तको फिल्म खोसिएको पनि उल्लेख गरेका छन् ।