Logo

काेभिड–१९ काे महामारीमा प्राङ्गारिक कृषि



Spread the love

–आशा थापा मगर


प्राङ्गारिक कृषि एउटा उत्पादन प्रणाली हो, जसले अनवरत रुपमा माटो, प्राकृतिक वातावरण तथा मानव स्वास्थ्यको रक्षा गर्दछ । यसले स्थानीय वातावरणमै छरिएका प्राकृतिक पद्धति, जैविक विविधता तथा स्राेत–सम्पदाहरुको प्रयोगलाई बढवा दिन्छ र विभिन्न प्रकारका आयातित तथा हानिकारक सामग्रीहरुको प्रयोगलाई निरुत्साहित गर्दछ ।

प्राङ्गारिक कृषि परम्परागत ज्ञान, पद्धति, स्थानीय सृजनात्मक तथा अन्वेषण र विज्ञानलाई जोडेर वातावरणलाई लाभ पु¥याई सम्पूर्ण जीवित वस्तुहरुको जीवनको गुणस्तर अभिवृद्धिको लागि स्वच्छ सम्बन्धहरुको प्रबन्धन गर्दछ । प्राङ्गारिक कृषि मानव जातिको लागि मात्र नभइ प्रकृतिमा रहेका सम्पूर्ण जीवित वस्तुहरुलाई पनि फाइदाजनक छ । प्राङ्गारिक कृषि पद्धतिमा कृत्रिम
तरिकाबाट संश्लेषित र हानिकारक वस्तुहरु जस्तै रासायनिक मल, हानिकारक किटनासक विषादि, हर्माेनहरु, फुड एडिटिभ र पशुकाे औषधिहरुको प्रयोगलाई निरुत्साहित गरिन्छ ।

यस पद्धतिमा प्रकृतिमा पाइने स्राेत र साधनहरुको प्रयोग गरेर खेती गरिन्छ । यस पद्धतिमा जैविक मल, कम्पोष्ट मल, गोबर मल, भरमी कम्पोष्ट आदि र जैविक किटनाशक औषधिहरुको प्रयोग गरिन्छ । वर्तमान समयमा प्राङ्गारिक कृषिजन्य उत्पादनको माग बढ्दो छ । मानिसहरुमा स्वास्थ्य जनचेतनाको विकास भएसँगै अर्गानिक उत्पादनले लोकप्रियता पाएको छ ।

आजकल धेरै मानिसहरुले अलि बढि पैसा तिरेरै भएपनि अर्गानिक खाना किन्न खोज्छन् । बालीविरुवाहरुमा बढ्दो प्रयोग भएको हानिकारक विषादिहरुको कारणले गर्दा क्यान्सर र हृदयघातजस्ता बिरामीहरुको सङ्ख्या बढ्दो छ । यसले गर्दा अर्गानिक उत्पादनको माग बढ्दै गइरहेको छ । साथै यस पद्धतिमा माटो, वातावरण र सबै खालका जीवहरुको स्वास्थ्यको ख्याल गरिने हुदाँ यस कृषि पद्धतिले सबैको ध्यान आकर्षित गरेको छ ।

अहिलेको समयमा कोभिड–१९ ले महामारीको रुप लिएको छ र विश्वलाई नै त्रसित बनाएको छ ।
अहिलेसम्म विश्वको लभगभ सबै देशहरुमा यो रोग फैलिसकेको छ । यस महामारीको सङ्क्रमणबाट बच्नको लागि विश्वका अधिकांश देशहरुले लकडाउनको उपाय अपनाइरहेका छन् । जसले गर्दा मानिसहरुको आवतजावतमा रोकबन्ध लगाइएको छ र अन्तरराष्ट्रिय हवाइसेवा तथा जलसेवा पनि ठप्प भएका छन् ।

हाम्रो देश नेपाल पनि यस महामारीको चपेटामा परेको छ । यस महामारीको सङ्क्रमण नियन्त्रण गर्नको लागि हाम्रो देशमा पनि लकडाउन गरिएको छ । मानिसहरुलाई अनावश्यक भीडभाड
नगर्न र मानिसहरुबीच सामाजिक दूरी कायम गर्न भनिएको छ र घरमै सुरक्षित बस्न भनिएको छ । लकडाउनले गर्दा सबै उद्योग–व्यापार, यातायात र संघसंस्था बन्द भएका छन् । यसले गर्दा मानिसलाई आवश्वक पर्ने सामानहरुको अभाव बढेको छ । यस महामारीले गर्दा कृषि क्षेत्रमा पनि प्रतिकुल असर परेको छ ।

कृषिको लागि आवश्यक वस्तुहरु मलखाद, बीउविजन, किटनासक विषादी आदि धेरैजसो हाम्रो छिमेकी राष्ट्र भारतबाट आयात गरिन्छ । तर अहिलेको यस आपतकालीनको समयमा छिमेकी मुलुकबाट आयात गर्न सक्ने अवस्था छैन । कृषिको लागि आवश्यक वस्तुहरु समयमा र आवश्यक मात्रामा उपलब्ध भएका छैनन्, जसले गर्दा कृषि उत्पादनमा कमी आउने निश्चय छ र निकट भविष्यमा खाद्यान्न संकट नहोला भन्न सकिदैन ।

यस आपतकालीन र महामारीको समयमा प्राङ्गारिक खेतीलाई विकल्पकाे रुपमा लिन सकिन्छ ।
प्राङ्गारिक खेती प्राकृतिक पद्धतिमा आधारित खेती हो र यसले जैविक विविधता र जैविक वस्तुहरुको प्रयोगलाई बढवा दिन्छ । यसका साथै कृत्रिम, रासायनिक र हानिकारक आयातित वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्छ । हाम्रो देश नेपाल प्राकृतिक स्रोत र साधनहरुमा धनी हुनुका साथै जैविक विविधतामा पनि सम्पन्न छ ।

हाम्रो वरपर रहेका जैविक स्रोतहरुको प्रयोग गरी प्राङ्गारिक खेति गर्न सक्छाैँ । जस्तैः हाम्रो वरपर भएका झार, हामीले लगाएको बालीको अवशेषहरु र बाेटबिरुवाहरुबाट कम्पोष्ट मल बनाएर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिन्छ । यस्तै गरी तितेपाती, अंसुरो, केतुकी र निमजस्ता वनस्पतिको प्रयोग गरी झोल मल बनाइ प्रयोग गर्न सक्छौँ । झोल मलले बाेटबिरुलाई रोग किराबाट बचाउनुका साथेै मलमा बिरुवालाई आवश्यक पर्ने पोषक तत्व पनि पाइन्छ ।


हाम्रो देशमा परम्परागत रुपमा गरिंदै आइएको खेती प्रणालीमा रासायनिक मल र अन्य हानिकारक कृत्रिम वस्तुहरु प्रयोग नगरिएकाले हाम्रो परम्परागत खेती शैली प्राङ्गारिक खेती नै हो । परम्परागत शैलीमा गरिंदै आएको खेतीलाई नयाँ प्रविधि र यान्त्रिकरणबाट गर्न सकिएमा धेरै फाइदा लिन सकिन्छ ।

यदि कृषकहरुलाई नयाँ प्रविधिहरू जस्तैः नेट हाउस, टनेलमा खेती गर्ने बारेमा ज्ञान दिन सकिएमा हामीले हाम्रो देशलाई सजिलैसँग प्राङ्गारिक उत्पादनमा निर्भर बनाउन सक्छौँ । अहिलेको यस लकडाउनको फुर्सदको समयमा भान्साबाट निस्किने फोहोरको प्रयोग गरी कम्पोष्ट मल बनाउन सक्छौँ । यसै गरी हाम्रो करेसाबारी र कौसीमा पनि प्राङ्गारिक खेती गर्न सक्छौँ, गोठेमललाई हाम्रो बारीमा प्रयोग गरी माटोको उर्वराशक्ति बढाउन सक्छौँ । गोठबाट निस्किएको घाँस कसिङ्गरबाट पनि कम्पोष्ट मल बनाई प्रयोग गर्न सक्छौँ । हामीले हरियो खादको (ग्रिन म्यानुर) प्रयोग गरेर पनि माटोको उर्वराशक्ति बढाउन सक्छाैँ ।

प्राङ्गारिक कृषि पद्धतिमा नवकरणीय स्रोतहरुको (जस्तैः जैविक वस्तुहरु, सूर्यको प्रकाश आदि) प्रयोग बढी हुन्छ र खेर जाने वस्तुहरुलाई पनि पुनः प्रयोगमा ल्याइन्छ । यस लकडाउनको समयमा कृषिका लागि आवश्यक सामाग्रीहरुको अभावको समयमा प्राकृतिक स्रोत र साधनहरुको प्रयोग गरि प्राङ्गारिक खेति गर्नु वैकल्पिक उपाय हो । यस लकडाउनको फुर्सदको समयमा हामीले घरको कौसीमा र करेसाबारीमा पनि प्राङ्गारिक खेती गरी कृषिजन्य वस्तुको उत्पादन बढाइ खाद्य संकट हुनबाट बच्न सक्छौँ । साथै रासायनिक र हानिकारक मल र विषादिको प्रयोगबाट आउने नकरात्मक असरहरुलाई हटाई माटो, जीवजन्तु, मानव जाति र पृथ्वीका सम्पूर्ण जीवनको रक्षा गर्न सक्छौँ ।

लेखक कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा, रूपन्देहीमा अध्ययनरत कृषि विज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्