Logo

गुल्मीमै पहिलो पटक सदरमुकाम बाहिर आइसोलेशन बेडको निर्माण



Spread the love

गुल्मी, जेठ २० । कोरोना भाइरस अर्थात् कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि यति बेला देशका तीनै वटा सरकार लागि परेका छन् । यस्तै प्रदेश पाँचको पहाडी जिल्ला गुल्मी पनि कोरोना नियन्त्रणको लागि विभिन्न उपायहरु अपनाइ लागि परेको छ ।

गुल्मीका स्थानीय तह र जिल्ला प्रशासन कार्यालय गुल्मी यति बेला कोरोना नियन्त्रणमा तल्लीन देखिन्छन् । विशेषतः पछिल्लो समयमा भारतबाट नागरिकहरु भित्रिएसँगै स्थानीय तहको ध्यान उनीहरुलाई कहाँ कसरी कुन क्वारेन्टाइनमा राख्ने भन्नेतिर केन्द्रित छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्लामा पहिलो पटक सदरमुकाम बाहिर आईसोलेसन कक्ष निर्माण गरेको छ ।

चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसमा आठ बेड क्षमताको व्यवस्थित आईसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष दाेर्ण खत्रीले सल्लेरी खबरलाई जानकारी दिए । मंगलबार गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै भनेका छन , ‘भारत लगायत तेस्रो मुलुकबाट आएकाहरु अनुशासनपूर्वक हामीले तयार गरेका क्वारेन्टाइन बसौँ । क्वारेन्टाइनमा बस्दै गरेकालाई स्वास्थ्यमा केही समस्या देखियो भने हामी गाउँपालिकाको आईसोलेसन होडिङ कक्षमा राख्छौँ, आरडीटी परिक्षण गर्छौँ र पोजिटिभ देखियो भने आईसोलेशन कक्षमा राख्छौँ । यसै गरी पीसीआर परीक्षण गर्न पनि पठाउनेछाेँ ।’

चन्द्रकोट गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बेडको व्यवस्था गरेको छ । अहिले गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका १७० जना नागरिक क्वारेन्टाइनमा बसेका छन् । तिनीहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्