मानिस र प्रकृति
प्रकृति र मानव एक रथका दई पांग्रा हुन् । मानिस र प्रकृतिबीच रहेको यसप्रकारको अन्योन्याश्रित सम्बन्धले गर्दा स्वच्छ प्रकृतिबिना स्वस्थ मानव जीवन अकल्पनीय छ | यसो भन्दा भन्दै पनि हामीले प्रकृतिलाई नकारात्मक प्रभाव पर्ने क्रियाकलाप दिनानुदिन बढाउँदै प्रकृतिको दोहन गरिरहेका छौंँ । फलस्वरूप प्रकृतिमा आउने थोरै परिवर्तनले पनि मानव जीवनमा गम्भीर प्रभाव पर्दै आएको पाइन्छ । भौतिकविज्ञान र विकासको असन्तुलित प्रयोग बढिरहदा विश्वले जलवायु परिवर्तनको ठुलो पराकाष्ठा भोग्नुपरेको छ । सन् १९६० को दशकपछि विश्वमा भएको द्रुत औधोगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरले निम्त्याएको जलवायु परिवर्तनसँगै सन् १९०६ देखि २००५ सम्ममा पृथ्वीको औसत तापक्रम ०.७४ डिग्री सेन्टिग्रेडले बढेको र सन् १९६१ देखि २००३ का बिचमा समुन्द्री सतह प्रतिवर्ष १.८ मिलि मिटरले बढेको विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन् । यस विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक आर्थिक विकास ,जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउँछ ।
जलवायु परिवर्तन र नेपालको कृषि
नेपालको तापक्रम पनि प्रतिवर्ष औसत ०.०४ डिग्री सेन्टिग्रेडका दरले बढेको पाईएको छ । जलवायु परिवर्तनको मुख्य कारक हाम्रो जस्तो विकासोन्मुख देश नभएता पनि अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, हिमताल विष्फोट, हिमपहिरो, सुक्खापन, खडेरी, वनस्पति र जीवजन्तु लोप हुँदै जानु, वार्षिक रुपमा तापक्रम वृद्धि हुँदै जानु, अस्वाभाविक रुपमा ऋतु परिवर्तन हुँदै जानु, वर्षेनी नदीका सतहहरु घट्दै जानु जस्ता प्रतिकूल वातावरणीय असरहरु प्रकृतिका चुनौतीका रुपमा हाम्रा सामु खडा रहेका छन् ।
तापक्रमको वृद्धिसँगै कृषिमा असाध्यै नयाँ खालका रोगहरु, किराहरु, झारपातहरुको फैलावट हुनुका साथै वर्षा हुने समय, मात्रा र अवधिमा पनि फरक हुनाले कृषि क्षेत्र अत्यन्तै प्रभावित देखिन्छ तथा खाद्द सुरक्षाको क्षेत्रमा पनि निकै चुनौती थपिएका छन् । रैथाने तथा सहनशक्ति बढी भएका जातहरु लोप हुँदै जाने, बिरुवामा उपयुक्त समयभन्दा चाँडो फूल लाग्ने, कृषिजन्य उत्पादन चक्रमा परिवर्तनको साथै वातावरणको खाद्दचक्र असन्तुलन हुँदा सिङ्गो परिस्थितिक पद्धतीमा नै नकारात्मक असर परेको छ । तर, जलवायुको परिवर्तित अवस्था अनुसार खेतीपातीमा गर्नुपर्ने सुधार सम्बन्धि सीप र दक्षताको कमीले गर्दा थप मारमा पर्ने गरेका छन् नेपाली कृषकहरु ।
कृषि उत्पादनमा प्रभाव पर्ने जलवायु परिवर्तनसँगै फैलिएका विनाशकारी शत्रुहरुले मात्रै हाम्रो देशको परिप्रेक्ष्यमा कूल कृषि उत्पादनमा १५ देखि २० प्रतिशतसम्म नोक्सान पारेको आंकडा पाइएको छ | आजभन्दा २७/२८ वर्षअघि तराईका बारा, पर्सा, धनुषा, रौतहट, मोरङ, सुनसरी जिल्लाहरुमा उखु बालीमा फड्केकिराको निकै ठुलो क्षति, नुवाकोटमा मकैमा फौजीकिराको प्रकोप, सन् १९८७ मा बाँके जिल्लामा धानमा फौजी किराले गरेको ठुलो क्षति (२०% जमिनमा एक गेडा पनि नआउने गरी बाली नष्ट भएको ) आदिलाई जैविक महामारी का रुपमा किराको प्रकोप को उदाहरण मान्न सकिन्छ ।
हालको सन्दर्भ
वर्तमान परिप्रेक्ष्य, विश्व एक जैविक महामारीको युद्ध कोभिड–१९ विरुद्ध लडिरहेको यस संकटको घडीमा धेरै मुलुकले कृषि क्षेत्रमा अत्याधिक क्षति व्यहोर्नुपरेको कुरा सर्वविदित नै छ । नेपालको कृषि पनि कोरोना भाइरसको प्रभावबाट अछुतो रहन सक्ने कुरै भएन ।
हामीमाझ आज कोरोना भाइरसले निम्त्याउन सक्ने भोकमरीको डर त छँदै छ, त्यसका साथै बल्ल तल्ल लगाएको प्रमुख खाध्यबाली धान र मकै खेतीलाई पनि महामारीको रुपमा फैलिरहेका अमेरिकन फौजी किरा र भारतसम्म आइपुगेको सलह किराको महामारीबाट जोगाउनु एक प्रमुख चुनौतीको रुपमा खडा भएको छ । जेसुकै भएपनि मानिसको आधारभूत आवश्यकता गाँस, बास र कपासको जोहो गर्ने क्षेत्र भनेकै कृषि क्षेत्र नै यस्ता प्राकृतिक प्रकोपको सिकार हुनुपर्दा भविष्यमा विश्वमा खाद्यसंकटको स्थिति आउँछ नै र अब आउँदा दिनहरुमा यस्तै भयावह स्थितिको नियन्त्रण हुन सकेन भने कोरोनाको संक्रमणले भन्दा भोकमरीले लाखौँ जनको क्षति व्यहोर्ने स्थिति नआउला भन्न सकिन्न।
अमेरिकन फौजी किरा
पुतली वर्गमा पर्ने यस हानिकारक अमेरिकन फौजी किरा अमेरिकाको रैथाने किरा भए पनि हाल भने विश्वमा नै महामारीको रुप लिएर फैलिएको छ । सन् २०१६ मा अफ्रिकामा, २०१८ मा भारतको कर्नाटाकामा महामारीको रुप लिएको यसले नेपालमा भने २०१९ मा नवलपुरमा मकैमा क्षति पुर्याएको र यो वर्षमा चाहिँ नेपालको अधिकांश जिल्लाको मकै उत्पादनमा प्रमुख समस्याको रुपमा देखिइरहेको हुँदा आउँदा दिनमा महामारीकै रुप लिने सम्भावना प्रवल रहेको पाइन्छ । नेपालमा किसानहरु मकैको गबारो र फौजी किरा कुन हो भनेर छुट्टाउन नसकेको पनि पाइएको छ । विशेष गरी फौजी किराको लार्भामा टाउको पट्टि उल्टो Y आकारको चिह्न हुन्छ जुन गबारोमा हुँदैन । यसको जीवनमा अण्डा, प्युपा र वयस्क हानिकारक हुँदैनन् तर लार्भाको पाचौँ र छैठौँ अवस्था निकै खन्चुवा हुने हुँदा रातिमा पातमा प्वाल पारेर हरियो भाग खाइ सेतो भाग मात्र बाँकी रहने, गुवोभित्र नै पसेर खाने र मकैको घोगामा नै प्वाल पारेर जुँगा साथै कलिलो दाना नै खाइ दिने र घोगा दानारहित बनाइ पुरै बाली नै नष्ट पार्छ ।
यो किराको लार्भा एकदमै खन्चुवा र वयस्क पुतली एक रातमै १०० किलोमिटरसम्मको दुरी पार गर्न सक्छ र नेपालमा पोहोर मात्र छिरेर पनि अहिले यसको फैलावटको दरलाई हेर्दा समयमै यसको व्यवस्थापन गर्न नसके नेपालको दोश्रो मुख्य खाध्यबाली मकैको उत्पादनमा ठुलो गिरावट आइ कोरोनाको महामारीले आक्रान्त परेको नेपालको अर्थतन्त्रले धान्न नसक्ने गरी भोकमरीको मार खेप्नुको विकल्प रहँदैन ।
एकीकृत शत्रुजीव व्यवस्थापन
एकीकृत शत्रुजीव व्यवस्थापन एउटा महत्वपूर्ण एवं उपयुक्त वैकल्पिक उपाय हो जसले रासायनिक विषादीको अत्यधिक प्रयोगबाट परेको असर कम गरी स्वस्थ बाली उत्पादन र खाध्यसुरक्षा सुनिश्चितता गराउँछ । यसले पर्यावरण खलल नपुर्याइ, आर्थिक नोक्सान स्तरलाई नबढाइ, बालीका हानिकारक शत्रुहरुलाई उचित ढंगले व्यवस्थापन गर्नको लागि वातावरणलाई यथोचित ध्यान दिंदै प्राकृतिक श्रोतको परिचालन गरी किसानको परम्परागत ज्ञानको समुचित प्रयोग गरेर दिगो कृषि विकासमा टेवा पुर्याउँछ । त्यतिमात्र नभएर यसअन्तर्गत यदि जैविक तरिकाको प्रयोग गर्दा पनि रोग किराको रोकथाम गर्न सकिएन भने ती शत्रुको असर र संख्याको उचित ख्याल गरी स्थानीय स्तरमा प्राप्त हुने सबैभन्दा सुरक्षित रासायनिक उपचार सकेसम्म कम मात्रामा उचित तरिकाले गरिन्छ ।
फौजीकिराको एकिकृत व्यवस्थापनको लागि निम्न उपायहरु अपनाइन्छ:खेती गर्ने तरिकाबाट : जस्तै घुम्ती बाली लगाउने, खेतबारीको सुग्घर सफाई, जमिनको राम्रोसँग खनजोत गरेर, राम्ररी पाकेको गोबरमलको प्रयोग गरेर, मिश्रित खेती लगाएर अथवा रोग किरा कम लाग्ने अथवा सहने जात लगाएर, खेतबारीको नियमित निरीक्षण गर्ने ।
१. शारीरिक तरिकाहरु अवलम्बन गर्ने : जस्तै हातले टिप्ने, जालीले पक्रने, किराको अण्डा वा लार्भा भेटिएमा हातले मिचेर मार्ने ।
२. भौतिक तरिका : बत्तीको पासो प्रयोग गरी वयस्क पुतली लई आकर्षित गरी मार्ने ।
३. जैविक तरिका : शत्रुजीव परजीवी जस्तै र्ट्राइकोग्रामा चिलोनिस र टेलिनोमोस स्पिसिस प्रतिहेक्टर एक लाखका दरले १ हप्ताको अन्तरालमा प्रयोग गर्ने ।
: नीम जन्य बिषादी १५०० पी पी एम ५ मि .ली प्रति लिटर पानीका दरले उम्रेको १० दिनपछि ३/४ दिनमा १० दिनको अन्तरालमा प्रयोग गर्ने ।
: ५० ग्राम खुर्सानीलाई २ के जी खरानीमा मिसाइ गुबोमा एक एक मुठी हालिदिने ।
: बारीको कान्लामा नेपियर घाँस (किरा आकर्षण गर्छ) र मकै बारीमा डेस्मोडीयम घाँस (किरा लाई भगाउँछ) लगाउने ।रासायनिक तरिका : इमामेक्टिन बेन्जोएट ५% ई सी ०.४ ग्राम प्रति लिटर पानी वा स्पाइनोस्याड ४५% एस सी ०.३ ग्राम प्रति लिटर पानी वा स्पाइनेटोरम ११.७ % एस सी ०.५ मि.लि प्रति लिटर पानीका दरले बिरुवाको गुवो भिज्ने गरी प्रयोग गर्दा प्रभावकारी पाइएको छ ।
४. अन्य तरिका : आकर्षित पदार्थ (फलआर्मीवर्म ल्युर) प्रति हेक्टरमा १० वटा फनेल पासोको प्रयोग गरी भाले पुतलीलाई आकर्षण गरी नष्ट गर्ने ।
सलह किरा
सलह किरा साधारण फट्यांग्रा प्रजातिको अत्यन्तै हानिकारक किरा हो । यसले जमिनमुनि ६० देखि ८० वटाको समूहमा अण्डा पार्छ । यसको पछाडिको खुट्टामा सेरोटोनिन हर्मोनको मात्रा बढेर स्पर्श उत्तेजनाको कारण रंग, आहारा र प्रजननमा फरकपना आउँछ । यी किराहरु समूह बनाएर झुण्ड रुप लिइ बसाइँसराइँ गर्न थाल्दछन् । किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् ।
यी किराहरु वयस्क र निम्फहरु गरी करोडौँ को संख्यामा झुण्ड बनाइ बस्न रुचाउने, प्रजनन दर निकै बढी हुने, छिटै लामो दुरी उड्न सक्ने ( दैनिक ९० माइल) र भेटेजति सबै हरिया बालीबिरुवालाई सखाप पार्ने, अझै विरुवाका पातहरु खाएर सकिसकेपछी हाँगा एवम् बोक्रालाई समेत सखाप पार्छ । एउटा ४ देखि ८ करोडको संख्यामा रहेको झुण्डले एकदिनमै करिब ३५००० मान्छेले खाने बराबरको खाना ( आफ्नो वजन बराबरको- करिब २ ग्राम जति )खान सक्ने भएकाले सलहले अमेरिकन फौजी किराले भन्दा बढी नै क्षति पुर्याउँछ । जलवायु परिवर्तनसँगै वातावरणमा जति सुख्खापन बढ्छ त्यति नै यिनीहरुको संख्या ह्वात्तै बढ्ने र यसको प्रकोप लामो समयसम्म रहने हुन्छ ।
यसलाई प्रवासी शत्रु मानिन्छ,जसका धेरै प्रजातिहरु छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन लाेकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लाेकस्ट भनिन्छ । सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलहलाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर विनाश फैलाइरहेको छ ।
यसको उत्पत्ति सन् २००३ मा अफ्रिकामा भएको भएपनि हालसम्म अन्ट्राटिका र उत्तर अमेरिका बाहेक सबै जसो महादेशमा महामारी फैलाएको पाइन्छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायलमा समेत यसको प्रकोप लामो समयसम्म रहँदा २.५ लाख अमेरिकी डलर बराबरको क्षति पुगेको थियो । अहिले भने यो किरा इरान हुँदै सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा प्रकोप फैलाउँदा राष्ट्रिय संकटकालको घोषणा समेत गर्नु परेको थियो र २०२० मेमा भारतको मध्ये प्रदेश, राजस्थान र गुजरात लगायत राज्यमा फैलिइ ५०,००० हेक्टरमा लगाएको बाली सखाप पारेको थियो । भारतमा यसको प्रजनन र वृद्धिदर हेर्दा भारतको उत्तरी क्षेत्रमा यदि सलह फैलियो भने नेपालको पनि भारतको सीमानजिक पर्ने क्षेत्रमा छिर्न सक्ने एकदम धेरै नै सम्भावना देखिन्छ । नेपालमा यो मनसुनको समय सलहको प्रजननका लागि उपयुक्त वातावरण हुन गइ यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउँन सक्छ र आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न गई नेपालमा जोखिम बढाउने देखिन्छ ।
एकीकृत शत्रुजीव व्यवस्थापन
सलहको झुण्ड अति नै ठुलो हुने र निकै छिटो फैलिने भएकाले यसको प्रकोपलाई पूर्ण रुपमा निर्मुल पार्न त सकिंदैन तर पनि यसबाट हुन सक्ने सम्भावित क्षतिको रोकथाम तथा नियन्त्रण गर्न अरु सामान्य किरालाई जस्तो सजिलो नभए पनि विभिन्न विधिका बारेमा विश्वमा खोज अनुसन्धान भैरहेका छन् ।
जैविक तरिका : प्राकृतिक सिकारीको रुपमा हाँसको प्रयोग गरी अनुसन्धान भइरहेको छ ।
: जैविक कीटनाशक विषादीहरु प्रयोग गर्ने ।
: जैविक शत्रुको रुपमा ढुसी ( मेटारिजियम एनिसोपलाई) प्रभावकारी मानिएको छ ।
भौतिक तरिका : वायुमण्डलमा अवरोध सिर्जना गर्न कम दुरीमा उड्न सक्ने उपकरण प्रयोग गर्ने
: ठुलो आवाज निकाल्ने खालका उपकरण प्रयोग गरी किरा भगाउने
शारीरिक तरिका : जालीको प्रयोग गर्ने, टायर बाल्ने, खाडल खनेर हाल्ने आदि जस्ता शारीरिक क्रियाकलापबाट पनि प्रकोप कम गर्न सकिन्छ ।
ःकिराले प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने
रासायनिक तरिका : उचित तरिकाले उपयुक्त विषादीको प्रयोग गर्न सके अरु विधिभन्दा यो तरिकाबाट किरालाई छिटै नियन्त्रण गर्न सकिन्छ । मलाथियन, डाईजिनन, फिप्रोनिल, फेनिट्रोथियन, आदि जस्ता विषादी प्रभावकारी मानिएका छन् । विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
सुझाव
हाल सालै सलह किराको सम्भावित प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ , अब भने भारतमा यो किरा कस्तो गतिमा कुन दिशातर्फ कसरी फैलिएको छ, त्यसको गहन अध्ययन गरी यदि नेपालमा आइहाल्यो भने के गर्न सकिन्छ त भनी व्यवस्थापन विधिबारे छलफल गरी पूर्व तयारी अपनाउनु पर्ने देखिन्छ । कृषक स्तरमा जनचेतना फैलाउने काम गरी यसको व्यवस्थापनको लागि अल्पकालीन र दीर्घकालीन योजनातर्फ जागृत हुनुपर्ने देखिन्छ ।
अब के गर्ने त ?
मानिस भन्दा सधैँ प्रकृति नै बलियो हुन्छ, तर हाम्रो दम्भले गर्दा प्रकृतिभन्दा आफूलाई निकै माथि ठानी त्यहीं प्रकृतिलाई नै शोषण गर्न खोज्दा समय समयमा प्रकृतिले दिएका ठुला चुनौतिको सिकार हुनु परेको छ । त्यसैले मानव परिवर्तनसँगै जलवायु परिवर्तन भइरहेको अवस्थामा जलवायु परिवर्तन न्यूनीकरण गर्न स्वयम् मानव नै परिवर्तन हुनु जरूरी छ । जलवायु परिवर्तनका असरले सबैभन्दा बढी मारमा पर्ने भनेको हामी जस्ता गरिब र अविकसित देशका गरिब जनता हौँ, साथै हाम्रा प्राकृतिक श्रोत र साधनहरु बढी सङ्कटमा पर्छन । संसारका ७८% खाध्य असुरक्षित मानिसहरु कृषिमै निर्भर रहेको हुँदा बढ्दो जलवायु परिवर्तनले भोकमरी र गरिबी झनै बढ्ने अनुमान लगाउन सकिन्छ ।
नेपाल जलवायु जोखिमको हिसाबले विश्वको चौथो स्थानमा पर्ने विकासोन्मुख देश हुनाले यस विषयमा निकै संवेदनशील हुनुपर्छ । हामीले गर्न सक्ने भनेको कृषिमा परिवर्तित जलवायु अनुकुल नयाँ प्रविधि, सुख्खा, खडेरी, बढी वर्षा सहन सक्ने, रोग किरा कम लाग्ने उपयुक्त बालीको अनुसन्धान एवम् विकास गरी खेती प्रविधिलाई पनि त्यहीं अनुरुप बनाइ सम्भावित प्रकोपबाट राहत पाउन सकिन्छ । जनस्तरमा यसबारे जनचेतना फैलाउँदै परिवर्तित जलवायु अनुकुलन क्षमता बढाउँदै जाने हो भने भविष्यमा हुन सक्ने सलह प्रकोप जस्ता ठुला जैविक महामारीबाट सम्भावित भोकमरी, खाध्य असुरक्षाको जोखिम केही हदसम्म न्यूनीकरण हुनेमा कुनै शंका छैन ।
एकातिर बढ्दो जनसंख्याको चापलाई खाद्यान्न परिपूर्ति गर्न बढी अन्न उत्पादन गर्नुपर्ने भएको छ भने अर्कोतिर विरुवाका शत्रुले गर्ने यति ठुलो नोक्सानलाई बचाउन सकेमा मात्र बढ्दो जनसंख्यालाई केही हदसम्म सुलभ तरिकाले सकिने कुरा निर्विवाद नै छ । यस्ता विभिन्न तथ्यलाई मध्यनजर गर्दा कुनै पनि देशको कृषि उत्पादन र उत्पादकत्वलाई वृद्दि गर्दा उन्नत प्रविधिको अवलम्बन गरेर मात्रै हुँदैन, प्रमुख समस्याको रुपमा विरुवाको शत्रुलाई लिएर त्यसको व्यवस्थापनतर्फ सोंच्नु एकदमै आवश्यक हुन्छ ।