१३ जेठ, सल्यान । सल्यान जिल्लामा कोरोना भाइरस (कोभिड १९) को आरडिटी परीक्षणमा पोजेटिभ देखिएका एक व्यक्तिमा पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।
सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीय ती व्यक्तिमा कोभिड १९ को आरडिटी पोजेटिभ देखिन बित्तिकै पिसिआर परीक्षणको लागि स्वाब सुर्खेतमा रहेको प्रयोगशालामा पठाइएको थियो ।
आरडिटी शंकास्पद देखिएका व्यक्तिसँगै रहेका अन्य ५ जनाको पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । उनीहरू ६ जनाकै पिसिआर परीक्षण नेगेटिभ आएको बागचौर नगरपालिकाले जानकारी दिएको छ ।
यसअघि सल्यान जिल्लाकै शारदा नगरपालिकाका एक व्यक्तिमा कोभिड १९ को आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो तर पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको थिएन ।
सल्यान जिल्लामा अहिलेसम्म कोभिड १९ को संक्रमण देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्