काठमाडाैं । गुल्मीको इस्मा गाउँपालिकामा २२ जनाको आरडीटी परीक्षणमा २२ जनाकाे रिपाेर्ट नेगेटिभ देखिएकाे छ ।
इस्मा गाँउपालिकाले निमार्ण गरेका क्वारेन्टाईनमा रहेका २२ जनाको आरडीटी परीक्षण गरिएको र सबैको नेगेटिभ आएको इस्मा गाँउपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताएका छन् ।
१४ दिन सम्म क्वारेन्टाइनमा राखी १३ जना पुरुष र ९ जना महिलाको आरडीटी परीक्षाण गरिएकाे थियाे । कोरोना परीक्षण गरिएका व्याक्ति काठमाडौ र बुटवलबाट आएका थिए । उनहरूलाई थप एक हप्ता सम्मको लागि सुरक्षित रुपमा होम क्वारेन्टाईनमा बस्नको लागि आग्रह गरिएको इस्मा गाउँपालिकाले जनाएको छ ।अब इस्मा गाउँपालिकाको क्वारेन्टाईनमा १४ जना व्यक्ति रहेका छन ।
गुल्मीमा कोराना परीक्षण कछुवा गतिमा
गुल्मीमा कोरोना परीक्षण कार्य कछुवा गतिमा अघि बढेको छ । भारतसहित तेस्रो मुलुकबाट जिल्ला भित्रिनेको संख्या दिनानुदिन बढ्दै गएता पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । कोरोना संक्रमित जिल्लामध्यको एक जिल्ला प्रदेश पाँचको पहाडी जिल्ला गुल्मी पनि हो । मुलुकमा लकडाउन घोषणा गरेसँगै देशका विभिन्न स्थान र भारतसहित तेस्रो मुलुकबाट करिब १७ सय ५० जना र भारतबाटै मात्रै १२६ जना कानुनी तवरले गुल्मी भित्रिएका छन् । सबैको आरडीटी परीक्षण गर्ने योजना रहेता पनि तिव्र गतिमा परीक्षण कार्य अघि बड्न सकेको छैन ।
जिल्ला बाहिरबाट आएका नागरिक, स्वास्थ्यकर्मी तथा फन्ट लाइनमा घटिएका सुरक्षाकर्मी गरी चार हजारको हाराहारीमा आरडीटी चेक गर्नु पर्ने अवस्था रहेता पनि अहिलेसम्म मात्रै ७५ जनाको पीसीयार र १९६ जनाको मात्रै आरडीटी परीक्षण गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डाक्टर भवानी शर्माले सल्लेरी खबरलाई बताए ।
भिटिएम तथा किटको अभावका कारण जिल्लाले कोरोना परीक्षणको दायरा बढाउन सकिरहेको छैन भने जिल्लामा लकडाउनका बाबजुद पनि बाहिरबाट नागरीक भित्रिने क्रम नरोकिँदा जिल्लालाई कोराना नियन्त्रणमा थप समस्या परेको छ । केन्द्र र प्रदेशले समन्वय नगरी पठाउँदा थप समस्या परेता पनि आफूहरुले कोरोना नियन्त्रणको लागि सक्दो प्रयास जारी राखेको जनप्रतिनिधिहरु बताउँछन ।
पछिल्लो समय विभिन्न बहानामा गुल्मी भित्रिने र होम क्वारेन्टाइन भन्दै सिधै घरमा जान दिने प्रवृत्ति गुल्मीमा बढिरहेको छ भने ग्रामीण क्षेत्रमा लकडाउन प्रभावकारी नहुँदा थप समस्या जटिल बन्दै गइ रहेको छ । जिल्लामा भित्रिने सबै नागरिकलाई स्थानीय तहले बनाएका क्वारेन्टाइन र कोराेना परीक्षण कार्यलाई तिब्र गतिमा अघि बढाउन आवश्यक छ ।