दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल रुंगटालाई राजनीतिको यस्तो चस्का लाग्यो, उनी यसपालि कांग्रेसको टिकटमा पर्सा-१ मा प्रतिनिधि सभाको उम्मेदवार भएका छन् ।
कांग्रेसको समानुपातिकतर्फको सूचीमा रहेको आफ्नो नाम हटाउन लगाएर उनी प्रत्यक्षमा जोखिम मोलिरहेका छन् ।
डन्डी, पाइपलगायत फलामजन्य उद्योगमा जमेका रुंगटालाई राजनीतिको चस्का किन त ? राजनीतिको चस्का विद्यार्थीकालमै लागेको उनी सम्झिन्छन् । वीरगन्जमा पढ्दा नेपाल विद्यार्थी संघको झन्डा बोकेर हिँडे पनि पढाइ सकाएपछि व्यापार सम्हाल्नमै व्यस्त हुनुपरेको थियो ।
‘पूर्णकालीन कांग्रेसी बन्न नभ्याए पनि पार्टीमै थिएँ’, उनी भन्छन्, ‘परेका बेला आर्थिक सहयोगमात्र होइन, सक्रिय भएर लाग्थेँ ।’ चार वर्षअघि शेरबहादुर देउवाको कोटामा सांसद मनोनित भएपछिचाहिँ पूर्णकालीन कांग्रेसी भए, देउवाको निकटस्थका रूपमा चिनिए ।
रुंगटाजस्तै व्यापार पृष्ठभूमि भएका धेरै राजनीतिमा हाम्फालेका छन् । पैसा कमाएपछि राजनीतिमा लाग्ने प्रवृत्ति संसारैभर देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि राजनीतिमा सक्रिय हुनुअघिको पहिचान अर्बपति हो ।
यहाँ २०६२/६३ को राजनीतिक परिवर्तनपछि समानुपातिकबाट सांसद हुन पाउने भएपछि धनाढ्यको सांसद हुने मोह छर्लंग देखिएको थियो । सांसद भएका/हुन चाहेकामा दुईथरी भएका खबर आजकोअन्नपुर्ण पोष्टमा छापिएको छ ।