चीनको वुहान प्रान्तबाट सुरु भई फैलिएको कोभिड-१९ ले विश्वभर महामारीको रूप लिएको छ। सम्भावित महामारीलाई रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।
कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २६ लाख ३७ हजार ३ सय भन्दा संक्रमित भएका छन् भने १ लाख ८३ हजार ६ भन्दा बढीको मुत्यु भएको छ । ७ लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएको वल्र्डोमिटरले जनाएको छ ।
‘यो मन त मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा जोरपाटीका केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् ।
लकडाउन गरेर सबैलाई घरमै रहन सरकारले आग्रह गरेसँगै सबैको दैनिकी परिवर्तन भएको छ। यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु परेका छन्।
जसलाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे परेको छ। काम गरी दैनिकी गुजारा गरिरहेका मजदुरहरू काम नपाएसँगै भोक भोकै बस्न बाध्य छन्। अधिकांश मजदुर बाटोमा भौतारिएर हिँड्न बाध्य छन्।

लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा जोरपाटीमा त्यहिका केही युवाहरु मिलेर नि:शुल्क खाना वितरण गर्दै आएका छन्।
कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न मुलुक लकडाउनमा रहेका बेला जोरपाटीका युवाहरुले नि:शुल्क खाना खुवाउँने अभियान चलाएका हुन् ।
लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका मजदुरका लागि लक्षित गरी जोरपाटीका विजु शाही, सञ्जय परियार लगायतले सित्तैमा नि:शुल्क खाना वितरण गर्दै आएका छन्।

जोरपाटीको बराल पेट्रोल पम्पनेर नि:शुल्क भोजनको व्यवस्था गरेका छन । उनीहरुले वृद्धवृद्धा, बालबालिका, अपांग, अनाथ, बेबारिस, विपन्नहरुलाई खाना खुवाइरहेको जोरपाटीका सञ्जय परियारले बताए।
खाना परियारकै घरमा पकाउँछन्। पम्पनेर लगेर सामाजिक दुरी कायम गरेर खाना बाँड्छन्। त्यहाँ साबुनपानीले हात धुने व्यवस्था मिलाइएको छ। दैनिक सात सय हाराहारी असहाय, दीनदु:खी, विपन्नहरुले खाना खाँदै आएका छन्। खाना पकाउन ग्यास, पानी, खाद्यान्न स्थानीयहरुले सहयोग गर्छन्।
विगत १ महिनादेखि मजदुर र बाटोमा भौतारिएकालाई विजु शाहीको समुहले निःशुल्क खाना खुवाउँदै आइरहेका छन्। साथीसँग मिलेर खाना खान नपाउनेका लागि पेटभरि खाना खुवाउने उद्धेश्यले नि:शुल्क खाना वितरण गरेको विजु शाहीले जानकारी दिए ।

लकडाउन अगाडि मागेर खानेहरूका लागि यतिबेला झन समस्या परेको भन्दै उनले लकडाउन भएपछि माग्नसमेत सम्भव नभएकाले कयैं व्यक्ति भोकभोकै हिँड्नुपरेको बताए। मागेर खानेहरुले लकडाउनपछि माग्न नपाएर फोहोरमा खाना खोजेर खाएको देखेको बताउदैं उनले भने, ‘त्यहि दृश्य देखेर नि:शुल्क खाना खुवाउने सोच बनायौं।’

व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका मजदुरलाई छाक टार्ने उद्येश्यले उनीहरुले नि: शुल्क खाना वितरण थालेका हुन् । अभियान सञ्चालनमा ल्याएका युवाहरुलाई नगरपालिका,वडा कार्यालय र प्रहरीबाट समेत सहयोग पाएका छन।
प्रारम्भको दिनहरुमा आफ्नै गोजीबाट खाना खुवाएका उनलाई ४/५ दिनपछि स्थानीयलेसमेत सहयोग गरेका छन्। ‘हामीले खुवाएको देखेर स्थानीयले पनि सहयोग गर्न थाल्नुभयो’। ‘उहाँहरूले पैसा नभए पनि चामल,तेल र दालहरु सहयोग गर्नुभएको छ।’

गरीब,दुःखी,असहाय र अशक्त परिवारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अभियान लकडाउन नसकिन सम्म अघी बढाइने युवाहरुले बताएका छन् । यदि कसैले सहयोग गर्न चाहेमा खाद्यान्न लगायत अन्य सहयोग गर्न मिल्ने जानकारी दिए। ‘हामीले कसैबाट पैसा लिएका छैनौं। लिए पनि त्यस पैसाले किनेको सामानको लिस्ट नै बनाएका छौं,’ उनले भने।
‘हामीले मान्छेको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो खाना वितरण गरेका हौं’ सञ्जय परियारले बताए। बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म १५ जना कर्मचारी खाना बनाउनका साथै १० जना मान्छे ब्यबस्थापन र खाना बाड्नमा व्यस्त रहने उनले बताए।

बिहानको खाना १०:३० बजेदेखि १२ बजेसम्म र बेलुकाको खाना ५:३० बजेदेखि ८ बजेसम्म खुवाउने गरेको उनी बताउँछन्। आफूले यसरी असहायका लागि खाना खुवाउन पाउँदा खुसी लाग्ने उनले बताए। ‘खान मुश्किल परेकाहरुलाई खान खुवाउँदा सन्तुष्ट भएका छौं,’ उनले भने, ‘दाल भात तरकारी दिने क्रममा वरिपरि स्यानीटाइजर छर्केर र साबुन पानीले हात धुवाएर मात्रै दिने गरेका छौं।

अहिले उनिहरुले खाना खान आउनेको ज्वोरो समेत नाप्ने गरेका छन । अहिले त्यस्तो कुनै किसिमको बिरामी नआयको अभियानमा संलग्न नर्श छिरिन लामाले जानकारी दिईन ।

आफूहरूले गरेको काम देखेर अरू ठाउँका स्थानीय युवाले पनि यस्तै काम सुरू गरेको उक्त अभियानमा संलग्न एक युवाले बताए। युवाहरुले चालेको अभियान नगरमै उदाहरणीय बनेको छ ।