Logo

कतै हाम्रो आत्मविश्वास कमजोर भएको त हैन ?



Spread the love

रेखा पौडेल

दुखी आत्मा रोगले भन्दा छिटो मर्न सक्छ । – जोन स्टेनबेक

ए बाबु ! तिमी बिहानदेखि नै खोकी रहेका छौ, तिमीलाई के भो ? बजारभरी जताततै के जाति हो कोरोना भन्ने लागरहेको छ रे ! कतै तिमीलाई नि त्यहीं भएको त हैन ? होइन काकी बिहानै नुहाएकोले चिसो लागे जस्तो भएको छ । मैले जवाफ त दिनै पर्यो, अलिअलि खोकी लाग्दा पनि स्पष्टिकरण दिनुपर्ने यी घरबेटी आवै पहिला-पहिला ज्वरोले हप्तादिन थला पार्दा पनि सोधखोज गर्ने होइन । धन्य छ कोरोना तिमीलाई । सबैलाई आफ्नै ज्यानको माया त हो नि । दुई दिन भयो लगातार खोकी लागिरहेछ कतै कारोनाको संकेत त होइन नि सोंच्दै मन चसक्क भयो ।

बच्चादेखि नै सुनेको कुरा वनको बाघले खाओस् नखाओस् मनको बाघले खान सुरु गर्यो भने अवश्य नै चितामा पुर्याउँछ । वर्तमान विश्वको परीवेशमा पनि कोरोना भाइरसले आवश्यकता भन्दा बढी मात्रामा मनको बाँधको रुपमा त्रसित बनाउदै विश्व भ्रमणमा निस्किएको पाईन्छ । यसले विश्वको म नै शक्तिशाली हुँ भन्नेलाई पनि एक कुनामा लगेर डरैडरले थन्काएको छ । अहिले कोरोना भाईरसलाई रोकथाम गरेर यसलाई सामान्य बनाउनु वा विश्वबाट नै निर्मुल पार्नु भनेको विश्वको लागी ठुलो चुनौतिको रुपमा रहेको छ । दिनानुदिन कोरोनाको बढ्दो आतंकको बारेमा विविध संचारमाध्यम तथा प्रकाशन भएका प्रतिवेदनहरु पढी रहदा हामीहरुमध्ये अधिकांशको ध्यान खिचिनुको साथसाथै मुटुको गति पनि तेज हुने गरेको छ । यो भाईरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले आफू बच्नको लागि शंकास्पद व्यक्तिबाट दुरी कायम गर्नु त राम्रो हो तर हाम्रोमा झन् कोरोना होस् कि नहोस् त्यसको शंकामा नै शंकास्पद ठाउँका व्यक्तिहरुलाई उनीहरुले कुनै अपराध नै गरे सरह अवहेलना गरिएको छ । अझ कोरोना शंक्रमितको परिवारलाई पनि पुन गाउँ समाजमा नै फर्कन गाह्रो हुने गरी समाजबाट मानसिक यातना दिईएको पाईन्छ । यस्तो परिस्थितिमा हामीहरु एकले अर्कालाई आफ्नो स्थानबाट साथ दिएर आत्मविश्वास बढाएर सुरक्षित रुपमा काम गर्नु पर्ने हो तर समाज यसको ठिक विपरीत गए जस्तो लाग्दैछ ।

मानिसलाई बाँच्नको लागी एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ भनेर आदिकवि भानुभक्तले भनेजस्तै विभिन्न अध्ययनमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुनको लागि सकारात्मक सोच र आत्मविश्वासको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोरोना भाईरस सम्बन्धमा विश्व जुधिरहँदा यसको लक्षण, बच्ने उपाय, अपनाउनु पर्ने सुरक्षा सँगसँगै मानिसको आत्मविश्वास बढाउने प्रचार सामग्री पनि संचारमाध्यमले प्रकाशन गर्नु आवश्यक छ । कोरोना भाईरसबारेमा नेपाली समाजमा प्रकाशन गरिएको समाचार, प्रचार सामग्रीहरु, जानकारीमुलक सन्देशहरुले कोरोनाबारेमा आवश्यक जानकारी दिंदाद़दै त्रास पनि थपेर आत्मविश्वासमा कमी आउने काम गरिरहेको त छैन ?

कस्तो किसिमको मनोवैज्ञानिक असर गरिरहेको छ ? एकपटक पुन: समीक्षा गरेर समाजमा कोरोनाबाट बच्न अपनाउने सुरक्षाको उपाय सँगसँगै समाज तथा अस्पतालमा संक्रमित तथा शंकास्पद व्यक्तिलाई र उसको परिवारलाई गरिने व्यवहारमा परिवर्तन गरेर आफू बलियो हुँदै अरुलाई पनि आत्मविश्वासी हुने प्रचार सामाग्री ( जस्तै नेपाल टेलिकमबाट बताईएको जानकारीमा कोरोना संक्रमितलाई गर्नुपर्ने कस्तो व्यवहार हो ? थप गर्ने ताकि उनीहरु समाजबाट अवहेलित हुन नपरोस् ) तयार गर्नु पर्नेजस्तो लाग्दछ । सँगसँगै यस्तो जटिल अवस्थामा ज्यानको बाजी राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी, प्रहरी लगाएत सम्पूर्ण सरोकारवालालाई धेरै धन्यवाद । हामीहरुले पनि कोरोना विरुद्धमा लड्नको लागि आफ्नो तर्फबाट आत्मविश्वासी र घरभित्र सुरक्षित भई बसेर सहयोग गरौँ । नियमको पालना गरौँ । आफू सुरक्षित भए समाज सुरक्षित र देश सुरक्षित ।

प्रतिक्रिया दिनुहोस्