Logo

गुल्मीमै पहिलो पटक सिद्धबाबा माविमा अनलाइनबाट अध्यापन



Spread the love

७ वैशाख, गुल्मी – लकडाउनका कारण एसईई दिने विद्यार्थीहरुको पढाइ प्रभावित भइरहेको समयमा गुल्मीमा भने आधुनिक प्रविधिको प्रयोग गरिएको छ । जिल्लामै पहिलो पटक रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित सिद्धबाबा माद्यामिक विद्यालयले अनलाईनबाट पठनपाठन सुरु गरेको हो ।


आधुनिक प्रविधिलाई प्रयोग गर्दै विद्यार्थीको खाली समयलाई सदुपयोग गर्ने हेतुले अनलाईनका माध्यमबाट अध्यापन थालिएको विद्यालय व्यवस्थापन समिति तथा वडा नम्बर आठका वडा अध्यक्ष भरत भलामीले बताए ।


इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई सहजै अध्यापन गराउन सकिने र एक पटकमा २५० जना विद्यार्थीलाई अध्यापन गराउन मिल्ने विद्यालयका शिक्षक तिलक खड्काले जानकारी दिए ।

यता विद्यालय प्रधानाध्यापक डोर विक्रम शिरिषले सल्लेरी खबरलाई भने ” अहिलेको समय भनेको टेक्नोलोजीको समय हो । टेक्नोलोजीको अधिकतम प्रयोग गर्दै लकडाउनको सहि सदुपयोग गर्न हाम्रो विद्यालय सफल भयो ।”

आज पहिलो दिन कक्षा १० मा अध्ययन गर्ने २५ जना विद्यार्थीलाई ८० मिनेट अध्यापन गराईएको प्रधानाध्यापक शिरिषले उल्लेख गरे ।

यो प्रविधिको माध्यमबाट अन्य कक्षाका विद्यार्थीलाई पनि अध्यापन गराउने तयारी विद्यालयको रहेको छ । अनलाईनको माध्यमबाट पठनपाठन सुरु भएसँगै लकडाउनका कारण दिक्क बनेका विद्यार्थीसहित अभिभावक हर्षित बनेका छन ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर आठका सबै विद्यार्थीलाई लकडाउन अवधिभर साझा शिक्षा अध्यापन गराउने तयारी भइरहेको वडा अध्यक्ष भलामीले जानकारी दिएका छन् ।


खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्