डा. संगीता स्वेच्छा
हिँड्न लालायित पैतालाहरू
अनि
गुड्न तड्पिएको शरीरसँग
जोरी खोज्दै
उड्यो एउटा मन
एक अन्जान
उडन तस्तरीमा ।
एउटा मात्र होइन
उड्दै थिए
थुप्रै यस्तै यस्तै
छटपटाएका
अरु पनि मनहरू ।
निलो स्वच्छ आकाशमा
त्यो पर इन्द्रेणीको छेवैमा
उड्दै गरेका
ती कैयौँ मनहरूका
आँखाहरू निला
खैरा अनि काला
कसैका केशका रंग सुनौला
कसैका राता अनि काला ।
स्वच्छन्द ती मनहरू
उड्दै थिए
एउटै समानताको धरातलमा ।
अन्जान उडन तस्तरीहरूमा
बिना संकोच उड्दै गरेका
ती मनहरू
न कोही गरिब
न त कोही धनी ।
शायद यसैले कि
ती मनहरुका
शरीर, पैताला अनि दिमागहरू
छुटेका थिए
घरघरमै लकडाउनमा ।
जीवनको मूल्य खोज्दै
मौन विश्वमाथि
उडिरहेका ती मनहरू
लिप्त छन् एउटै अभिलाषामा ।
भयबाट मुक्त जीवन
एक स्वस्थ जीवन
पुनः पूर्ण रुपमा जिउने आशामा ।
प्रतिक्रिया दिनुहोस्