इटाली र स्पेनका भयावह दृश्य भाइरल भइरहँदा, दिनहुँ कोरोना संक्रमित बढिरहँदा दिग्दारी लाग्छ नै । त्यसमाथि घरभित्रै थन्किनु परेपछि मन रमाउने कुरै भएन । ‘दिन कसरी बित्दै छ ?’ साथिहरु सोध्ने गर्छन्, ‘वाक्क लागिसक्यो मलाई त, घरमा बस्दा बस्दा ।’यो निस्सासिँदो परिवेशमा मान्छेका मन अत्तालिनु स्वाभाविक हो ।
कसले कसलाई कतिखेर रोग सल्काइदिने हो र कहाँ महामारी फैलिएर कति मान्छे हताहत हुने हुन् भन्ने त्रास एकातिर छँदैछ, अर्कातिर घरभित्र कति दिन बस्नुपर्ने हो भन्ने चिन्ताले पनि सबैलाई सताई रहेको छ । यस्तो बेला, मन स्वाभाविक रुपले आत्तिन्छ तर यही बेला हो, मनलाई सम्हाल्नुपर्ने। अनि यही बेला हो, सुझबुझ देखाउनुपर्ने।
हाम्रो व्यस्त जीवनशैलीलाई ठप्प गराइदिएर कोरोनाले आफैंसँग भेट गर्ने, आफैंलाई चिन्ने एक अपूर्व मौका दिएको छ हामीलाई। कसैलाई भेट्न नमिल्ने, बाहिर निस्कन नसकिने यो अवस्था अन्तरजगतको यात्राको एक सुन्दर सुरुवात हुन सक्छ। समय कटाउन सामाजिक सञ्जालहरूमा बेप्रसंगका गफ गर्ने, दिनरातै सुतिरहने वा वाक्क लाग्यो भनेर आ जेसुकै होस् भन्दै घरबाहिर निक्लने गर्नुभन्दा आफ्नो मनलाई नियाल्नु उपयोगी हुन्छ।
यो दु:खबाट पार पाउने एउटै उपाय भनेको आफूलाई सम्पूर्णरुपमा सामना गर्ने सामथ्र्य जुटाउनु हो। विषय र वस्तुहरूका बारेमा जान्नु संसार हो, आफ्नै बारेमा जान्नु चाहिँ अध्यात्म। जसले आफूलाई जान्यो, त्यसलाई अरु जान्ने आवश्यकता रहँदैन। जसले आफूलाई जानेन, उसले जति जाने पनि त्यसको अर्थ रहँदैन।