२४ मंसिर, काठमाडाैँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताएका छन् । आज लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्रतिबद्धता विषयक प्रदेशस्तरीय अभियान कार्यक्रममा मन्त्री गुरुङले हिंसा न्यूनीकरणका लागि गण्डकी प्रदेशबाट महत्वपूर्ण सुझावहरु सङ्कलन गरेर कार्य थालिने बताए ।
उनले लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६÷७७ लाई प्रभावकारी बनाएर विशेष योजनामार्फत अघि बढिनेमा जोड दिए । उनले भने, “गण्डकी प्रदेशबाट हिंसा विरुद्धको अभियानमा प्रदेश कार्यालयसँग समन्वय गर्दै समस्याको पहिचानमार्फत प्रभावकारी तरिकाबाट काम थाल्नेछौँ ।” उनले विस्तृत अध्ययनपछि मात्रै थप कुरा सार्वजनिक गरिने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला हिंसा सामाजिक विकासको बाधक भएको बताए । उनले भने, “सभ्य समाजका लागि हिंसा सबैभन्दा ठूलो बाधक हो । सबैभन्दा पहिला कुरीति र कुसंस्कारको अन्त्य गर्न जरुरी छ ।” उनले शिक्षा र सचेतनामार्फत हिंसा न्यूनीकरणमा प्रदेशले जोड दिने बताए ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हिंसा अन्त्यका लागि कानून कार्यान्वयन नै महत्वपूर्ण हुने भनाइ राखे ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्थानीय तहबाटै लैङ्गिक हिंसालगायतका समाजमा विद्यमान विभिन्न कुरीतिजन्य हिंसा निवारण गर्न स्थानीय तहदेखि नै निर्देशिका बनाएर कार्य गरिने बताए । महिला हिंसाको विषय शब्दबाट भन्दा पनि व्यवहारबाट नहटाएसम्म पीडितले न्याय पाउन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को वार्षिक कार्ययोजनासम्बन्धी सहसचिव श्री रुद्रादेवी शर्माले प्रस्तुति राखेका थिए । शर्माको प्रस्तुतिमाथि विभिन्न समूहगत छलफल गरेर महत्वपूर्ण सुझाव सङ्कलन गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक सङ्घसंस्थाका व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो ।