२२ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गरेका छन् ।
सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गरेका हुन् । ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराएका हुन् ।
यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गरेकी हुन् । सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराउका हुन् भने पुनम बाई पाएर सोझै फाइनल पुगेकी हुन् ।
यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुगेका छन् । पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गरेका छन् । शनिबार सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गरेका छन् । पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित भए ।
यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित भए ।