Logo

‘श्री ३ महाराज’ भन्ने सांसदलाई आक्रोश नपोख्न ऊर्जामन्त्री पुनको सुझाव



Spread the love

२३ साउन, काठमाडौँ l उर्जामन्त्री वर्षमान पुनले स्वयंलाई ‘श्री ३ महाराज’ भन्ने जुम्लाका सांसद गजेन्द्रबहादुर महतलाई त्यसरी आक्रोश नपोख्न सुझाव दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सहभागिता जनाउँदै ऊर्जामन्त्री पुनले जुम्लामा विद्युत् आपूर्ति आरम्भ भइसकेको बताए ।

उर्जामन्त्री पुनले भने, ‘जुम्ला जिल्लामा भएको विद्युत् अभाव र सप्लाई नभएको विषयमा गजेन्द्रबहादुर महतले असन्तुष्टि व्यक्त गर्नुभएको रहेछ, १ मेघावाट भन्दा साना पावर प्लान्टलाई उपभोक्ताहरूले नै सञ्चालन गर्ने कानुन रहेकाले त्यहाँको २०० किलोवाटको परियोजनाका सम्पूर्ण काम उपभोक्ता समितिले गर्दै आइरहेको छ । वैकल्पिक व्यवस्थाका लागि हामीले डिजेल प्लान्टको परियोजना सुरु गरिसकेका छौँ ।’

कर्णालीका सम्पूर्ण जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने कार्यक्रम रहेको मन्त्री पुनको जवाफ थियो । प्रत्येक शुक्रवारको दिउँसो १२ बजेदेखि १ बजेसम्म जनतासँग सिधै हटलाइनमार्फत कुरा हुँदा स्वयंलाई जुम्लाको समस्या थाहा भइसकेको र समस्या समाधानका कदमहरू चालिसकेको जानकारी मन्त्री पुनले दिए ।

उनले भने, ‘जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि डिजेल जेनेरेटर पठाउने गरी काम सुरु भइसकेको छ, ३०० केभीएको जेनेरेटरले जुम्लामा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नेछ र समस्याको दीर्घकालीन समाधान गर्नेछ ।’

मङ्गलवार बसेको बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको पगरी गुथाएका थिए ।

लामो समयदेखि जुम्लामा विद्युत् आपूर्ति नभएको भन्दै महतले घिसिङ र पुनमाथि आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘कर्णालीको एक जिल्ला सदरमुकाम जुम्ला अँध्यारो छ, २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रेर थन्केको छ, श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन ।’

नेपालको बिजुली भारतमा बेच्छौँ भनेर ठुला कुरा गरे पनि जुम्लामा बिजुली पुर्‍याउन नसकेको आरोप महतको थियो । उनले भने, ‘हामीले यति गर्‍यौँ, उति गर्‍यौँ भनेर यिनीहरू कुर्लेका कुर्ल्यै छन्, इन्डियालाई बत्ती बेच्दैछु भन्छन्, बत्ती कृपया जुम्लालाई बेचिदिनुस्, बत्ती कति छ हामीलाई बेचिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्