१८ माघ, डोटी – पूर्वीचौकी गाउँपालिका–५ मा सुतिरहेकै कोठामा मृत फेला परेकी २१ वर्षीया पार्वती बोगटीको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा शवपरीक्षण गरिएको छ ।
जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेपछि उनको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो । चिकित्सक नहुँदा उहाँलाई आज डडेल्धुरा लगेर शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ । तीन जना चिकित्सक दरबन्दी रहेको सो अस्पतालमा तीनै जना चिकित्सक तालीमका लागि भन्दै काठमाडाैँ गएपछि जोरायल प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक झिकाई काम सञ्चालन भइरहेको छ ।
बिहीबार राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण निस्सासिएर उनको ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लालबहादुर धामीले बताए ।