२७ कात्तिक, लमजुङ – अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ माउण्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बनेका छन् ।
उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगितामा १४ देशका ३२ प्रतियोगीलाई पछाडि पार्दै ३४ वर्षीय करीले पहिलो स्थान हासिल गरेका हुन् । लगातार तीन वर्षसम्म ‘याक अट्याक’ मा सहभागीलाई पछि पार्दै करी च्याम्पियन बनेका छन् ।
लमजुङ सदरमुकाम बेंसीशहरबाट शुरु भएको प्रतियोगिता चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने (संसारकै अग्लो मानिने) पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ (थोराङ्ला पास) गरेर प्रतियोगी मुस्ताङको कागबेनी हुँदै कालोपानी पुगेका थिए । करीले पाँच दिन लगाएर एक हजार ८५ किलोमिटरको दूरीलाई १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पूरा गरे ।
प्रतियोगिताका व्यवस्थापक माउण्टेन बाइक (एमटिबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीका अनुसार लमजुङको बेंसीशहरबाट शुरु भएको उक्त प्रतियोगिता मनाङको ताल, मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनी हुँदै कालोपानीमा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा नौ नेपालीसहित २४ विदेशी गरी ३३ जनाले उक्त सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नेपाली २४ वर्षीय रोअन तामाङ (बुद्धिबहादुर तामाङ) दोस्रो हुनुभएको छ । उहाँले १३ घण्टा ३१ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । नेपालकै ओकेस बज्राचार्यले १३ घण्टा ३५ मिनेट एक सेकेण्डमा लक्ष्य पूरा गरी तेस्रो भएका छन् ।
प्रतियोगितामा महिलातर्फ अस्ट्रेलियाकी ३१ वर्षीया करेन हिल पहिलो भएकी छीन् । आठ प्रतियोगीलाई उछिन्दै १७ घण्टा ५९ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पार गरेर उनि महिलातर्फ पहिलो भएकी हुन् । प्रतियोगितामा नेपाली ३० वर्षीया लक्ष्मी मगर दोस्रो भएकी छिन् । उनले १९ घण्टा १८ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । उनी गत वर्ष महिलातर्फ च्याम्पियन बनेकी थिइन् । नेदरल्याण्डकी निन्के उस्ट्रा तेस्रो भएकी छिन् । उनले निर्धारित दूरीलाई २६ घण्टा, ३६ मिनेट ५८ सेकेण्डमा पार गरेकी छिन् ।
बेलायतस्थित माउण्टेन बाइकिङ वल्र्ड वाइडको आयोजनामा याक अट्याक साइकल दौड प्रतियोगिता हरेक वर्ष चक्रीय अन्नपूर्ण पदमार्गमा हुँदै आएको छ । संस्थाका निर्देशक फिल इभान्सका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने पुरुष र महिला विजयीलाई क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय डलर र २५० डलर प्रदान गरिएको छ ।
प्रतियोगितामा नेपालका साथै अस्ट्रिया, इटाली, क्यानडा, बेल्जियम, कोस्टारिका, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका, इक्वेडर, फ्रान्स, स्पेन र पोर्चुगलका प्रतियोगी सहभागी भएको आयोजकले जनाएको छ ।