महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिए ।
भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको उनले जानकारी दिए ।
पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्