कर्णालीका गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सवको रुपमा आयोजना गरिएको “बृहत् कर्णाली एक्स्पो” राजधानीको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ । एक्पोका विभिन्न आकर्षणहरुमा कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको आर्किटेक्चरल मोडल पनि राखिएको छ ।
एक्स्पोमा कर्णालीका दसै जिल्लाका पर्यटकीय सम्पदाहरु तथा त्यहाँका अर्गानिक उत्पादनलाई प्रदर्शनमा राखिएको छ । साथै सबै जिल्लाका मौलिक नाचहरु समेत प्रदर्शन गरिएको छ ।
एक्स्पोको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए भने कार्यक्रममा अतिथिको रूपमा प्रतिनिधि तथा प्रदेश सभाका सांसद, प्रदेश मन्त्री, कर्णाली प्रदेश अन्तर्गत विभिन्न पालिका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
बृहत कर्णाली एक्स्पोका आकर्षणहरूमा कर्णालीका दसै जिल्लाका लोक संस्कृति (सरङ्ङ्या नाच, दमाहा, पैस्यारु नाच, हुड्के नाच आदि), कर्णालीका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका आर्किटेक्चरल मोडेल, कृषि प्रदर्शनी (कर्णालीका विशेष कृषि उपज, जडीबुटी प्रदर्शनी साथै कर्णालीका अर्ग्यानिक परिकारहरूको टेस्ट जस्तै : मार्सी चामलको भात, च्याङ्ग्राको मासु एवम् बिर्यानी, कर्णाली हर्बल टि ), फोटो तथा भिडियो प्रदर्शनी, कर्णालीसँग सम्बन्धित पुस्तक, सन्दर्भ सामाग्रीहरूको प्रदर्शनी, खस भाषा तथा सभ्यता लगायत विभिन्न विषयमा अन्तरक्रिया रहेका छन् । एक्सपोमा कर्णालीको ४ वटा अर्गानिक खानाको स्टल र १ बेकरी समेत छ ।
समृद्ध कर्णाली अभियानको आयोजना तथा सल्यानी युवा सञ्जाल लगायतको सह-आयोजनामा सञ्चालित तिन दिने एक्स्पो फागुन ५ गतेसम्म चल्ने संयोजक ओपेन्द्र शाहीले बताएका छन् ।
एक्स्पोमा राखिएका केही आर्किटेक्चरल मोडलको जानकारी साथै तस्बिर ।
रारा ताल
• कर्णाली प्रदेश मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो एवम् प्रसिद्ध ताल ।
• नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको “नेपालका १०० पर्यटकीय गन्तव्य”को सुचीमा पर्न सफल ।
• जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा पछि रारा ताल पुग्न सकिने ।
• समुद्र सतहदेखि २,९९० मिटर उचाईंमा अवस्थित ।
• प्रकृतिको अलौकिक उपहारको रूपमा रहेको सुन्दर मनोरम ताल ।
• रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका ।
• तालको नजिकै सम्म मोटर बाटोको व्यवस्था हुनुका साथै ट्रेकिङ तथा घोडा सवारीको पनि सुबिधा रहेको ।
• प्राकृतिक एवम् धार्मिक पर्यटनको लागि एक सुन्दर गन्तव्य ।
कुपिण्डे ताल
- नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको “नेपालका घुम्नै पर्ने १०० पर्यटकीय स्थल”को सुचीमा पर्न सफल ।
- कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको बनगाड–कुपिण्डे नगरपालिकामा अवस्थित ।
- जिल्ला सदरमुकाम खलंगादेखि १४ किलोमिटर पश्चिम तथा दाङ तुल्सीपुरदेखि करिब ५–६ घण्टाको दुरीमा रहेको ।
- चारैतिर मिलेका स–साना पहाडका थुम्का, हरियो रंगमा सजिएका सुन्दर वनजंगल अनि बिचमा निलो आकाश झैं तैरिरहेको लोभलाग्दो कुपिण्डे ताल ।
- तालको रंग हरेक वर्षको वर्षा, हिउँद र गर्मी याममा गरी ३ पल्ट बदलिने गरेको ।
- तालसँगै जोडिएर रहेको कैलु बराहदेव मन्दिरमा वर्षेनि माघ शुक्लपुर्णिमा र वैशाख शुक्लपुर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको ।
- ताल सम्म बाटोको व्यवस्था हुनुका साथै ताल सफरका लागि डुङ्गाहरूको पनि सुबिधा रहेको ।
- पिकनिक स्पट एवम् अवलोकन भ्रमणको लागि निकै सुन्दर गन्तव्य ।
नम्खा गुम्बा
• कर्णाली प्रदेशको हुम्ला जिल्लाको यलबाङमा अवस्थित ।
• सन १९०६ मा निर्मित तथा सन १९८५ मा सेकेण्ड देग्याल रिम्पोचेद्वारा पुनर्निर्माण एवम् विकास गरिएको ।
• अहिले झण्डै ४०० भन्दा बढी बौद्ध भिक्षुहरू, सयभन्दा बढी भिक्षुणीहरू गुम्बामा बौद्ध शिक्षा अध्ययन गरिरहेका ।
• हजारौ योगी एवम् योगिनीहरू बौद्ध धर्मको अभ्यासमा लागिरहेका ।
• यस गुम्बाले केवल बौद्ध धर्म मात्रै नपुकारेर कर्णाली समाजमा शान्ती र सहिष्णुता कायम गर्दै यहाँको कला, संस्कृति, रीतिरिवाजको पनि संरक्षण गरिरहेको ।
• कर्णाली प्रदेश अन्तर्गत बौद्ध शिक्षाको केन्द्र ।
• धार्मिक पर्यटनका दृष्टिले निकै महत्व बोकेको स्थान ।
छायाँक्षेत्र मन्दिर
- सल्यान सदरमुकाम खलंगादेखि दक्षिणतर्फ करिव १५ कि.मि. टाढा १३०० मिटर उचाईको थुम्कोमा अवस्थित ।
- शिखर शैलीमा बनेको यो मन्दिर वि.सं. १९९० को दशकमा शिव पार्वतीको मन्दिरको रुपमा स्थापित एवम् वि.सं. २०३७ सालमा नागाबाबाद्वारा जीर्णोद्दार गरिएको ।
- श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छायाँक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुन भएको कथा पाइने ।
- नेपालका सबै शक्ति पीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ ।
- मन्दिर परिसर उत्तरतर्फ एउटा ठुलो शिला रहेको, जहाँ सतीदेवीको सम्पुर्ण अङ्ग पतन भएको मानिने । त्यहाँ अझै पनि आँखाले अबलोकन गरे सल्यानका गाँउबस्ती समेत देख्न सकिने ।
- महाशिवरात्रीका दिन निकै ठुलो मेला समेत लाग्ने गरेको । यस दिन मनले चिताएको फल प्राप्त गर्न टाढा–टाढाबाट भक्तजनहरू आई शंखमुलमा स्नान गरी छत्रेश्वरी भगवतीको पुजा अर्चना गर्ने चलन रहिआएको ।
- धार्मिक पर्यटनका लागि एक सुन्दर गनतव्य स्थल ।
चन्दननाथ मन्दिर
- कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सदरमुकाम खलंगामा अवस्थित नेपालकै एक सुप्रसिद्ध मन्दिर ।
- दत्तात्रेय मन्दिरको नामले पनि परिचित रहेको ।
- यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने किंबदन्ती चलिआएको ।
- विजयादशमीको घटस्थापनाको दिन प्रत्येक वर्ष मन्दिरको लिङ्गो फेर्ने चलन ।
- दशैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तिज, शिवरात्री तथा एकादशीमा ठुलो मेला लाग्ने गरेको ।
- धार्मिक पर्यटनका लागि निकै सुन्दर गन्तव्य ।
खैराबाङ मन्दिर
- धार्मिक शास्त्र अनुसार नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिर ।
- परापुर्वकालमा एक महिलाले घाँस काट्न जाँदा जंगलमा नौमती बाजा बजेको सुनेपछि सबै गाउँलेलाई बोलाइन् । बाँझको रुखमुनिको फेदैमा खड्ग निसानाको खुडा तलमाथि गर्दा आवाज आइरहेको देखेर उनीहरू सब आश्चर्यचकित भए । त्यही रात गाँउको एक पण्डितको सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पुजाआजाको सुरुवात भएको किंवदन्ती ।
- कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको शारदा नगरपालिकामा अवस्थित ।
- दाङ तुल्सिपुरदेखि करिब ३ घण्टा तथा सल्यान जिल्लाको व्यापारिक केन्द्र श्रीनगरबाट झण्डै आधा घण्टाको दुरीमा रहेको ।
- ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण स्थल ।
- समुन्द्री सतहदेखि १,६०० फिटको उचाइमा २७ रोपनी क्षेत्रफलमा फैलिएको ।
- विशेषगरी बिजयादशमी तथा चैते दशैंको दिन पञ्चबलिका रुपमा राँगा, बोका, भेडा, परेवा र हाँसको बलि दिई भव्य रुपमा पुजा आराधना गर्ने प्रचलन रहेको ।
- मन्दिर दर्शन गर्न सल्यान सँगै दाङ, रूकुम, रोल्पा, प्युठान, बाँके, वर्दिया, सुर्खेत, कैलाली, दैलेख र जाजरकोट लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका ।
- नेपाल एकीकरण भन्दा पहिलेदेखि नै सल्यान, जाजरकोट, रुकुम, रोल्पा र प्युठानका राजाहरूले शक्तिपिठको रूपमा मान्दै आएका ।
- नेपाल एकीकरण पश्चात राजा गीर्वानयुद्धविक्रम शाह, पृथ्वीवीर विक्रम शाह, राणा प्रधानमन्त्री जङ्गबहादुर राणा आएका थिए भने राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र पनि कुल देवताका रूपमा पूजा गर्न आएका ।
अग्ला टाकुरा पार्क एण्ड भ्यु टावर
- कर्णाली प्रदेश सल्यान जिल्ला अन्तर्गत बागचौर नगरपालिकाद्वारा निर्माण गर्न थालिएको ।
- ग्रामीण सुगन्ध र परिचयले सजिसजाउ स–साना चिटिक्कका संरचना सहितको मनमोहक पार्क ।
- सल्यान बागचौर नगर आसपासका सम्पुर्ण पर्यावरणीय सुन्दरताले भरिपुर्ण डाँडाकाँडा, वनजँगलहरूको दृश्यावलोकनका लागि ‘भ्यु टावर’को व्यवस्था ।
- विभिन्न नगर, प्रदेश एवम् केन्द्र स्तरीय कार्यक्रमको सञ्चालनका लागि कार्यक्रम डबली एवम् खुलामञ्चको व्यवस्था ।
- नगर तथा जिल्लाका धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेका बहुमुल्य चिजहरूलाई संरक्षण, संबर्द्धन तथा प्रदर्शन गर्नका लागि संग्रहालयको समेत व्यवस्था ।
- पार्क निर्माणस्थल नेपालका सम्पुर्ण डाँगी जातीहरूको उद्गमभुमीका रुपमा पनि परिचित रहेकोले उनीहरूको कुल देवताको मन्दिरको पनि विकास गरिएको ।
- पार्क स्थल सम्म पुग्नका लागि राप्ती राजमार्गको बागचौर बजारदेखि गाडी एवम् ट्रेकिङका लागि फुट ट्रेलको सुबिधा ।
- अवलोकन भ्रमणमा जानेहरूका लागि अर्ग्यानिक खानाहरूको व्यवस्था सहित गाँउले परिवेशका पिकनिक स्थल एवम् होम स्टेको व्यवस्था ।
- समुन्द्री सतहदेखि करिब १६०० मिटरको उचाइमा झण्डै २८ रोपनीको क्षेत्रफलमा फैलिएको ।
- भविष्यमा निकै ठुलो पर्यटकीय सम्भावना बोकेको एक सम्भावना ।
स्यार्पु ताल, रुकुम
- नेपालको “५२ पोखरी, ५३ तालको जिल्ला”का नामले परिचित रुकुम जिल्लामा अवस्थित ।
- रुकुम सदरमुकाम मुसिकोटदेखि २ घण्टा ३० मिनेटको दुरीमा रहेको ।
- धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल ।
- २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थल ।
- सुन्दर पहाडहरूले वरीपरीबाट घेरिएर रहेको निलो अनुपम ताल ।
- तालको छेउमा हरियाली ग्रामीण सुन्दरताले सजिएको स्यार्पु गाँउ ।
- ताल सम्म बाटोको व्यवस्था हुनुका साथै ताल सफरका लागि डुङ्गाहरूको पनि व्यवस्था रहेको ।
- खाना – बस्नका लागि होमस्टे तथा होटलहरूको समेत सुविधा रहेको ।
जाजरकोट दरबार
• कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित ।
• बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको साढे तीन सय वर्ष पुरानो दरबार ।
• वि.सं. १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका ।
• जाजरकोट राज्यका संस्थापक जगती सिंह र अन्तिम राजा स्वयंप्रकाश विक्रम शाह थिए । तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका ।
• भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको ।
• नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रूपमा जाजरकोट रहेको ।
• दसैंका बेला जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने राँगो बलि मेला पनि हुने गरेको ।
• १९९० सालको भूकम्पपछि पुनर्निर्माण हुँदा दरबार चार तलामा झरेको ।
• ऐतिहासिक तथा पुरातात्विक पर्यटनका दृष्टिकोणमा निकै सुन्दर गन्तव्य ।
पचाल झरना
• कर्णाली प्रदेश अन्तर्गत कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पुर्वमा अवस्थित ।
• नेपालको सबैभन्दा अग्लो झरना ( ४१५ मिटर ) हुनुका साथै ‘विश्वकै ३० अग्ला झरना’हरूमा पनि पर्न सफल ।
• घना जंगलको बीचबाट निस्केको पानीको छहराको सुन्दर दृश्य निकै मनमोहक हुने गरेको ।
• कर्णाली प्रदेशको चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको झरना ।
• झरनाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको ।
• प्राकृतिक मनोरम सौन्दर्यताले भरिपुर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक रहेको ।
• प्रचारप्रसार तथा पर्यटकीय विकासको अभावमा ओझेल परिरहेको ।
बाला त्रिपुरा सुन्दरी मन्दिर
• कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित एक महत्वपुर्ण धार्मिक सम्पदा ।
• दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित मन्दिर कति वर्ष पुरानो हो भन्ने यकिन हुन नसकेको ।
• मन्दिर परिसरमा रहेको हजारौ वर्ष पुरानो बेडुको रुखलाई प्रमाणका रुपमा प्रस्तुत गर्दै मन्दिरका पुजारीले यसलाई ऐतिहासिक पक्षका रुपमा लिनुपर्ने बताएका ।
• स्थानीय र अन्य जिल्लाका गरी बर्सेनि करिब २५ हजार भन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेका ।
• किंवदन्ती अनुसार, सातौं शताब्दीमा राजा विक्रम शाहीको दरबार क्षेत्रमा रहेको धान कुट्ने ओखल उत्खनन गर्दा उडेका पुतलीहरुमध्ये एउटा पुतली बसेको ठाउँमा त्रिपुरा सुन्दरी मन्दिर स्थापित भएको र देवीहरु नै पुतलीका रुपमा प्रकट भएको धार्मिक मान्यता ।
• धार्मिक पर्यटनका दृष्टिकोणले निकै सुन्दर गन्तव्य ।
यो पनि पढ्नुहोस् ।
बृहत कर्णाली एक्स्पो आजदेखि सुरु (फोटो फिचर)