Logo

६ बुँदे मागका साथ अनशन सुरु गर्ने डा. केसीको घोषणा



Spread the love

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञका रूपमा कार्यरत चिकित्सक गोविन्द केसीले फेरि अनशन सुरु गर्ने घोषणा गरेका छन् l डा. केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ बुँदे माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन् । कात्तिक ८ गतेसम्म आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट शिक्षण अस्पतालबाट अवकास लिए पनि जुनसुकै स्थानमा गएर अनशन बस्न सक्ने बताएका छन् ।

यस्ता छन् डा. केसीको माग :

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२. विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस्।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौँको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट सङ्ख्यामा बृद्दि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागबन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरियोस्।

प्रतिक्रिया दिनुहोस्